राजावादीको प्रदर्शनमा भएको क्षतिमा बिमाबाट डेढ करोड मात्र भुक्तानी

राजावादीको प्रदर्शनमा भएको क्षतिमा बिमाबाट डेढ करोड मात्र भुक्तानी

गत चैत १५ मा राजावादीको प्रदर्शनमा भएको क्षतिमा डेढ करोड रुपैयाँको मात्र दाबी भुक्तानी भएको छ । हुलदंगामा ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबर बिमा दाबी परेकामा जेठ अन्तिम सातासम्म १ करोड ५८ लाख ४५ हजार रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ ।

प्रदर्शनका क्रममा सरकारी तथा निजी सवारीसाधन, भवनलगायत भौतिक संरचना तोडफोड हुँदा ४६ करोड ९० लाख ८५ हजार ३ सय ४० रुपैयाँ बराबरको क्षति मागदाबीसहित प्रहरीमा जाहेरी परेको थियो । बिमा कम्पनीमा भने करिब सवा ४ करोडको मात्र दाबी परेको थियो । तोडफोड भएकामध्ये निकै थोरै सम्पत्ति–व्यवसायको मात्र बिमा भएकाले दाबी पनि कम परेको बताइएको छ ।

यस आधारमा प्रदर्शनमा भएको क्षतिको कुल दाबीमध्ये सवा ४२ करोडभन्दा बढीको बिमा छैन । उनीहरूको क्षति कसले बेहोर्छ भन्ने यकिन छैन । प्रदर्शनमा ५६ वटा घर, संस्था एवं कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट ३९ करोड ९२ लाख ३६ हजार ६ सय ७६ रुपैयाँको क्षति पुगेको प्रहरीले जनाएको छ । यसमध्ये १५ निजी घर, ३७ निजी संस्था (दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय), एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्ड रहेको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडमा ६९ सवारीसाधनमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । त्यसमध्ये ६३ चारपांग्रे र ६ दुईपांग्रे सवारी छन् । क्षति पुगेका सवारीमध्ये नेपाल प्रहरीका ७, अन्य सरकारी कार्यालयका १०, सार्वजनिक संस्थानका १, निजी १८ र बाँकी ३३ वटा नम्बर नखुलेका सवारी रहेका प्रहरीको तथ्यांक छ ।