माग घटेपछि सिमेन्ट र डन्डीको भाउ सस्तियो, कति पुग्यो मुल्य ?
निर्माण सामग्रीको बजारमा पछिल्लो समय मूल्य घट्ने क्रम देखिएको छ। सिमेन्ट र डन्डी (रेडबार) को मूल्य उद्योगीहरूले घटाएका हुन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्टको मूल्य प्रति बोरा ५० देखि १०० रुपैयाँसम्म र डन्डीको मूल्य प्रति किलो ५ रुपैयाँसम्म घटाइएको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले मागमा आएको गिरावट र उद्योगमा लोडसेडिङ कम हुनु मूल्य घटाउने मुख्य कारण भएको बताए।
“उद्योगमा अहिले लोडसेडिङ घटेको छ,” दाहालले भने, “यसले उत्पादन लागत कम पारेको छ, जसका कारण उद्योगीहरूले मूल्य घटाएका हुन्।”
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार अहिले ओपीसी सिमेन्टको मूल्य प्रति बोरा ६ सयदेखि ७ सय रुपैयाँसम्म पुगेको छ, जुन पहिले ८ सय रुपैयाँसम्म थियो। डन्डीको मूल्य पनि ९६ रुपैयाँ प्रतिकिलोबाट घटेर अहिले ८२ देखि ८५ रुपैयाँसम्म झरेको छ।
विगतमा सिमेन्ट र डन्डीको मूल्य लोडसेडिङ, कच्चा पदार्थको अभाव र मागमा बढोत्तरीका कारण बढ्दै आएको थियो। तर हाल बर्खाका कारण निर्माण गतिविधि सुस्त हुँदा मागमा गिरावट आएको छ, जसले मूल्य घट्न मद्दत गरेको व्यवसायीहरूको भनाइ छ।
उद्योगीहरूले केही समयअघि ओपीसी सिमेन्टको मूल्य प्रति बोरा ६७५ देखि ८०० रुपैयाँ र पीपीसी सिमेन्ट ५५० देखि ६७५ रुपैयाँसम्म पुर्याएका थिए।



