सीएनआईवाईएफ लुम्बिनीद्वारा रुपन्देही र नवलपरासीका उद्योगको अध्ययन भ्रमण सम्पन्न

सीएनआईवाईएफ लुम्बिनीद्वारा रुपन्देही र नवलपरासीका उद्योगको अध्ययन भ्रमण सम्पन्न

बुटवल, असार १५ – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीले शुक्रबार रुपन्देही र नवलपरासीका विभिन्न उद्योगहरूको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ। उद्योग सञ्चालनका प्रक्रिया, व्यवस्थापन शैली तथा व्यावसायिक चुनौतीहरूको पहिचान गर्ने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो।

मञ्चका अध्यक्ष राजन कसजुको नेतृत्वमा भएको यस भ्रमणमा ३० भन्दा बढी युवा उद्यमीहरूको सहभागिता रहेको थियो। भ्रमणका संयोजक सुरज उप्रेतीले कार्यक्रमको व्यवस्थापन गरेका थिए।

भ्रमण टोलीले तिलोत्तमा नगरपालिका-१७, गंगोलियामा रहेको केपीआई हेल्मेट’ उद्योग र नवलपरासीको रामग्राम नगरपालिकामा रहेको ‘एसियन कंक्रिटो’ उद्योगको अवलोकन गरेको थियो।

केपीआई हेल्मेट उद्योग भ्रमणका क्रममा निर्देशक सीमा बस्याल पाण्डेयले उत्पादन प्रक्रिया, उद्योग सञ्चालनका पद्धति र व्यवसायमा देखिएका समस्याबारे सहभागीहरूलाई विस्तृत जानकारी गराइन्। सन् २०१६ (२०७३ साल) मा सञ्चालनमा आएको केपीआई हेल्मेट नेपालमै उच्च गुणस्तरको सुरक्षात्मक हेल्मेट उत्पादन गर्ने अग्रणी उद्योगमध्ये एक रहेको उनले दाबी गरिन्। कोहिनुर नेपालमै हेल्मेट उत्पादन गर्ने पहिलो कम्पनी हो। उनले आफ्नो उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गरिरहेको र भविष्यमा निर्यातको योजनासमेत रहेको जानकारी दिइन्।

त्यसैगरी, एसियन कंक्रिटो उद्योगमा भाइस प्रेसिडेण्ट श्यामलाल झाले उद्योगको हालको अवस्था, उत्पादन तथा विस्तार योजनाबारे प्रकाश पारे। निर्माण सामग्री क्षेत्रमा उल्लेखनीय स्थान बनाएको एसियन कंक्रिटोले नेपालका विभिन्न ठूला निर्माण परियोजनामा योगदान पुर्‍याइरहेको उनले बताए। साथै, छिमेकी मुलुक भारतको उत्तर प्रदेश र बिहार राज्यमा पनि यसको माग तीव्र गतिमा बढिरहेको जानकारी गराए। उद्योगले गुणस्तरीय उत्पादन, समयमै आपूर्ति र प्रतिस्पर्धी मूल्य नीति अवलम्बन गर्दै आएको उनको भनाइ थियो।

सीएनआईवाईएफ लुम्बिनीका अध्यक्ष राजन कसजुले भ्रमणलाई अत्यन्तै जानकारीमूलक र प्रेरणादायी भएको प्रतिक्रिया दिए। उनले भने, “स्थानीय उद्योगको काम गर्ने शैली, उत्पादन प्रक्रिया र चुनौतीहरूको प्रत्यक्ष अनुभवले दीर्घकालीन साझेदारी, व्यावसायिक सिकाइ र नयाँ बजार विस्तारका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ।”

उनले यो अध्ययन भ्रमण कार्यक्रमले युवा उद्यमीहरूलाई नेपाली उत्पादन प्रणालीबारे बुझ्न, उद्योगहरूसँग प्रत्यक्ष संवाद गर्न र नवीन सोचको विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। मञ्चले आगामी दिनमा यस्ता थप भ्रमण कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।