रसुवामा आएको बाढीले दुई सय ३० मेगावाट विद्युत् उत्पादन बन्द

रसुवामा आएको भीषण बाढीका कारण २ सय ३० मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू ठप्प भएका छन् । बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासहित त्रिशूली–३ ए, त्रिशूली, चिलिमे र बेनीघाट जलविद्युत् आयोजना प्रभावित भएका हुन् ।

आज बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति पुर्‍याएको छ । त्यहाँबाट उत्पादन हुने सम्पूर्ण १११ मेगावाट विद्युत् अहिले पूर्णरूपमा बन्द भएको छ ।

६० मेगावाट क्षमताको त्रिशूली–३ ए, २२ मेगावाटको चिलिमे, २१ मेगावाट क्षमताको त्रिशूली, १५ मेगावाट क्षमताको बेनीघाट जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएका छन् । बाढीका कारण ती आयोजनासँग सम्बन्धित करिब २ सय ३० मेगावाट क्षमताको प्रसारण लाइनसमेत अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार रसुवागढी आयोजनाको हेडबक्सको गेट बगाएको छ भने आयोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्किएपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ । यद्यपि पावरहाउस भने सुरक्षित रहेको शाक्यले जानकारी दिए ।