घरजग्गा कारोबारमा पुँजीगत लाभकर १७ प्रतिशतले बृद्धी हुदा लाभकर असुली ८ अर्ब बढी
गत आर्थिक वर्षको सात महिना (साउन–माघ)को तुलनामा चालु आवमा घरजग्गा कारोबारबाट असुली हुने पुँजीगत लाभकर १७ प्रतिशतले बृद्धी भएको छ ।
गत आवको माघसम्ममा ७ अर्ब ५८ करोड पुँजीगत लाभकर असुली भएको थियो । चालु आवको माघसम्ममा घरजग्गा कारोबारबाट ८ अर्ब ८७ करोड रुपैयाँ पुँजीगत लाभकर असुली भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले बढी हो ।
मालपोत कार्यालय साँखुका प्रमुख मालपोत अधिकृत कुमारबहादुर खड्काका अनुसार प्राकृतिक व्यक्तिको घरजग्गा निःसर्ग हुँदा लाभ हुने अवस्था देखिए लाभकर तिर्नुपर्ने हुन्छ । आन्तरिक राजस्व विभागले जारी गरेको जग्गा तथा घरजग्गामा पुँजीगत लाभकर सम्बन्धी निर्देशिका, २०७२ ले निजी घरजग्गा बिक्री गर्नु वा त्यसको हक अरू कसैको नाममा हस्तान्तरण गर्नु समेतलाई निःसर्ग भनेर जनाएको छ ।
उनले जग्गाको वास्तविक मूल्य बढेको र सरकारी मूल्यांकन पनि चालु आवबाट वृद्धि गरिएकाले पुँजीगत लाभकर बढेको बताए । ‘पाँच वर्षभन्दा कम समयमा घरजग्गा किनबेच धेरै पटक हुँदा समेत पुँजीगत लाभकर बढ्ने हुन्छ,’ उनले कारोबारसँग भने, ‘पाँच वर्षभित्र जग्गा बिक्री गर्दा हुने नाफामा ५ प्रतिशत पुँजीगत लाभकर लाग्छ । त्यसपछिका वर्षमा यो करको दर साढे २ प्रतिशतमात्र छ ।’
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको तुलनामा यो वर्ष घरजग्गा कारोबारमा सुधार आएको छैन । तर, यस्तो कारोबारबाट राजस्व असुली भने १४ प्रतिशतले बढेको छ । राजस्वमा आएको वृद्धिका कारण पुँजीगत लाभकर पनि बढेको हो । राजस्व र पुँजीगत लाभकर एकापसमा जोडिने गर्छन् ।
विभागका अनुसार गत आवको माघसम्ममा देशभरका मालपोत कार्यालयहरुबाट २१ अर्ब ६२ करोड रुपैयाँ राजस्व असुली भएको थियो । चालु आवको माघसम्ममा यस्तो राजस्व २४ अर्ब ६९ करोड रुपैयाँ संकलन भएको छ ।
कस्तो खालको घरजग्गा कारोबार वा हक हस्तान्तरणमा लाभकर लाग्छ भन्ने कुरा कारोबारको प्रकृति हेरी फरक–फरक नियम लागु हुने प्रमुख मालपोत अधिकृत खड्का बताउँछन् । खड्काका अनुसार लाभकर नलाग्ने थुप्रै व्यवस्था कानुनले गरेको छ । आयकर ऐनले कस्तो घरजग्गा करयोग्य हो र कस्तो करयोग्य होइन भनी वर्गीकरण गरेको छ । आफ्नो परिवारका सदस्यबीच हक हस्तान्तरण भएको अवस्थामा लाभकर तिर्नु नपर्ने व्यवस्था छ । स्वामित्व अवधि, कारोबार गरिएको रकम र कारोबार हुनेहरुको नाता सम्बन्धका आधारमा पनि कर लाग्ने–नलाग्ने कानुनले व्याख्या गरेको छ ।
मालपोत कार्यालयहरुले घरजग्गा कारोबारमा रजिष्ट्रेशन शुल्कसहित करिब आधा दर्जन शीर्षकबाट अन्य कर उठाउँछन् । यसमध्ये रजिष्ट्रेशनपछि सबैभन्दा बढी राजस्व पुँजीगत लाभकरबाट असुल हुने गरेको छ ।
पुँजीगत लाभकरको अवस्था पनि यस्तै छ । गत वर्ष असोजमा एक अर्ब ४६ करोड रुपैयाँ पुँजीगत लाभकर असुली भएको थियो । यो वर्ष असोजमा एक अर्ब ११ करोडमा झरेको छ । अन्य सबै महिनामा पुँजीगत लाभकर बढेको छ ।
विभागका अनुसार चालु आवको माघसम्ममा औषत प्रतिमहिना ३ अर्ब ५२ करोड ७१ लाख रुपैयाँका दरले राजस्व असुली भएको छ । यस्तै पुँजीगत लाभकर औषत प्रतिमहिना एक अर्ब २६ करोड ७१ लाख रुपैयाँका दरले उठेको छ । यो वर्ष माघसम्मका ७ महिनामध्ये असोजमा राजस्व घटेको छ । गत असोजमा ४ अर्ब ८ करोड राजस्व असुली भएको थियो भने यो असोजमा ३ अर्ब ८ करोड संकलन भएको छ । अन्य सबै महिनामा भने राजस्व बढेको छ ।
विभागका अनुसार साउनमा यो वर्ष ३ अर्ब ८३ करोड राजस्व असुली भएको छ । गत वर्ष साउनमा २ अर्ब ९१ करोड उठेको थियो । यस्तै यो वर्ष साउनमा एक अर्ब ३४ करोड पुँजीगत लाभकर उठेको छ । गत वर्ष साउनमा एक अर्ब एक करोड संकलन भएको थियो ।
यसैगरी गत वर्ष भदौमा ३ अर्ब ४ करोड राजस्व संकलन भएकामा यो वर्ष भदौमा ५ करोडले बढेर ३ अर्ब ९ करोड पुगेको छ । यस्तै गत वर्ष भदौमा एक अर्ब ९ करोड पुँजीगत लाभकर उठेकामा यो वर्ष एक अर्ब १३ करोड संकलन भएको छ ।



