बीवाइडीले नाफा दोब्बर बढाउँदै टेस्लालाई पनि उछिन्यो
चिनियाँ विद्युतीय कार उत्पादक बीवाइडीले सन् २०२५ को पहिलो त्रैमासमा उत्कृष्ट प्रदर्शन गरेको छ। कम्पनीले आफ्नो खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १००.४ प्रतिशतले वृद्धि गरेको रोयटर्सले जनाएको छ। यो वृद्धिदर पछिल्लो दुई वर्षयताकै तीव्र हो।
विद्युतीय सवारी साधनको बजारमा सन् २०२३ देखि सुरु भएको मूल्य युद्धमा बीवाइडीले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै बलियो पकड बनाएको छ। पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ९.२ अर्ब युआन (१.२६ अर्ब अमेरिकी डलर) पुगेको छ। यसअघि कम्पनीले ८.५ अर्ब युआनदेखि १० अर्ब युआन नाफा हुने प्रक्षेपण गरेको थियो।
यस त्रैमासिक नाफासँगै बीवाइडीले अमेरिकी विद्युतीय कार निर्माता टेस्लालाई पनि पछि पारेको छ। टेस्लाले भर्खरै सार्वजनिक गरेको विवरण अनुसार उसको नाफा ७१ प्रतिशतले घटेर ४० करोड ९० लाख डलरमा सीमित भएको छ। बीवाइडीको पहिलो त्रैमासिक आम्दानी भने १७०।४ अर्ब युआन पुगेको छ, जुन अघिल्लो वर्षको सोही त्रैमासको तुलनामा ३६।४ प्रतिशतले बढी हो।
पहिलो त्रैमासिकको प्रदर्शनलाई आधार मान्दा बीवाइडी सन् २०२५ मा थप बलियो बन्ने देखिएको छ। यस अवधिमा कम्पनीले करिब १० लाख युनिट कार बिक्री गरेको छ। यसलाई विश्लेषण गर्दा बीवाइडीले यस वर्ष ८ लाख युनिट निर्यातसहित कुल ५५ लाख युनिट कार बिक्री गर्ने लक्ष्य हासिल गर्ने सम्भावना छ।
उता, विश्लेषकहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको अटो ट्यारिफको बीवाइडीमा खासै असर नपर्ने अनुमान गरेका छन्। ब्लुमबर्गको रिपोर्ट अनुसार बीवाइडीले अमेरिकामा यात्रुवाहक कार बिक्री गर्दैन। साथै, दक्षिण अमेरिका र दक्षिण पूर्वी एसिया जस्ता उच्च वृद्धिदर भएका क्षेत्रहरूबाट ठूलो माग आउने सम्भावना रहेकाले ट्रम्पको शुल्कले कम्पनीको वृद्धिमा बाधा नपुग्ने विश्लेषण गरिएको छ।



