६३ दिनका लागि बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

६३ दिनका लागि बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको बढी तरलता व्यवस्थापन गर्न ६३ दिनका लागि ३० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले आइतबार (असार १५) एक सूचना जारी गर्दै निक्षेप संकलन (Deposit Collection) मार्फत सो रकम बैंक तथा वित्तीय संस्थाबाट झिक्न लागिएको जानकारी दिएको हो।

राष्ट्र बैंकले निक्षेप संकलनलाई अल्पकालीन मौद्रिक उपकरणको रूपमा प्रयोग गर्दै आएको छ। पछिल्ला केही हप्तादेखि नियमित रूपमा आइतबार र बुधबार उक्त प्रक्रिया अपनाउँदै आइरहेको छ। यसैअनुसार, आज पनि बैंकिङ प्रणालीबाट तरलता घटाउने उद्देश्यले निक्षेप संकलन खुला गरिएको हो।

राष्ट्र बैंकको सूचनाअनुसार, बोलकबोल प्रक्रिया अनलाइन प्रणालीमार्फत आज दिउँसो ३ बजेबाट सुरु हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँको आवेदन दिन सक्नेछन् भने बढीमा ५ करोड रुपैयाँको ‘भाग’ बनाएर कुल आह्वान रकमसम्म आवेदन दिने सक्ने व्यवस्था गरिएको छ।

उक्त निक्षेप संकलनमा क, ख र ग वर्ग अन्तर्गत राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन सक्नेछन्। संकलन गरिएको रकमको साँवा र ब्याज भुक्तानी भदौ १५ गते गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

केन्द्रीय बैंकको यो कदमलाई तरलता व्यवस्थापनका लागि आवश्यक मौद्रिक नीति अन्तर्गतको नियमित अभ्यासका रूपमा लिइएको छ। प्रणालीमा अधिक तरलता हुँदा मुद्रास्फीतिमा दबाब पर्न सक्ने तथा बैंकहरूमार्फत अत्यधिक जोखिमपूर्ण कर्जा प्रवाह हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै राष्ट्र बैंकले यस्तो उपाय अपनाएको बताइएको छ।

यसअघि पनि राष्ट्र बैंकले यस्तै प्रकृतिका निक्षेप संकलनमार्फत अर्थतन्त्रमा सन्तुलन ल्याउने प्रयास गर्दै आएको छ। तरलता घटाउने यो प्रक्रिया हाल बैंकिङ प्रणालीमा मौद्रिक अनुशासन कायम राख्न सहयोगी हुने अपेक्षा गरिएको छ।