नेपालमै २ अर्व लगानीमा सुरु भयो रेडबुल उत्पादन, वार्षिक १० हजार किलोलिटर जुस उत्पादन गर्ने

नेपालमै २ अर्व लगानीमा सुरु भयो रेडबुल उत्पादन, वार्षिक १० हजार किलोलिटर जुस उत्पादन गर्ने

आयात प्रतिबन्धपछि नेपालमा कारोवार बन्द भएको रेड बुल अव स्वदेशमै उत्पादन हुने भएको छ । रेड बुलले नेपालको अमरापुरीमा ग्रिनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेर आज बाट नै उत्पादन थालेको छ । रेड बुल फ्याक्ट्रीले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्डसहितको फ्याक्ट्री सञ्चालनमा ल्याएको हो । मंगलबार फ्याक्ट्रीको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका हुन् ।

फ्याक्ट्रीको आधाभन्दा बढी विद्युत्, वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन गरिने छ । व्यापारिक घराना खेतान समूहले नेपालमै रेडबुल उत्पादन सुरु गरेको हो । उक्त समूहले थाइल्यान्डको रेडबुल कम्पनीसँग सम्झौता गरी सरस बेभरेज प्रालि नामक उद्योग दर्ता गरेको थियो । खेतान समूहको अंशबण्डासँगै यसको उत्पादन राजेन्द्र खेतानका भाइ प्रेमप्रकाश खेतानले गरेका हुन् । खेतान समूहका अनुसार सरस बेभरेजको कार्यालय धादिङको धुनिबेसीमा स्थापना भइसकेको छ । त्यसको प्लान्ट भने नवलपरासीमा छ । वार्षिक १० हजार किलोलिटर जुस उत्पादन गर्ने लक्ष्य लिएको उद्योगमा २ अर्ब लगानी गरिएको छ । अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारका लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्ने छ । रेडबुलको नेपालमा स्थानीयरूपमा उत्पादन, ब्रान्डको यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको कम्पनीको भनाइ छ ।

विदेशी ब्राण्ड नेपालमा उत्पादन गर्दा प्रविधि हस्तान्तरण ऐनअनुसार रोयल्टी वा लाभांश दिनुपर्ने हुन्छ । अहिले खेतान समूहले रोयल्टी बुझाउने निर्णय गरेको छ । प्रतिष्ठित ब्रान्ड रेड बुल उत्पादन गर्ने नेपाल विश्वको चौथौ देश हो । रेड बुल उत्पादन गर्ने थाइल्यान्ड, भियतनाम र चीनपछि नेपाल रहेको छ ।

योविध्या परिवारको स्वामित्वमा रहेको टीसीपी समूह थाइल्यान्डमा रहेको एक अग्रणी पेय पदार्थ कम्पनी हो । जुन विश्वको सबैभन्दा प्रतिष्ठित इनर्जी ड्रिङ ब्रान्ड ’रेड बुल’को उत्पादक हो । साथै ’हाउस अफ ग्रेट ब्रान्ड्स’को रूपमा पनि परिचित कम्पनीसँग विविध उत्कृष्ट प्रोडक्टहरूको पोर्टफोलियो रहेको छ । एसियाका १५ भन्दा बढी देशका बजारहरूमा प्रत्यक्षरूपमा सक्रिय रहेको यसले विश्वव्यापी रूपमा पाँचहजार भन्दा बढी मानिसहरूलाई रोजगार दिइरहेको छ ।

थाइल्यान्डमा कम्पनीले विभिन्न व्यवसायमा सफलता हासिल गरेको छ । टीसीपी समूह ’इनरजाइजिङ अ बेटर वल्र्ड’ भन्ने उद्देश्यका साथ विश्वका विभिन्न देशमा सञ्चालित छ । टीसीपी समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्याले भने, “टीसीपी समूहले खाद्य तथा पेय पदार्थ उद्योगलाई नयाँ नयाँ सिर्जनशील उत्पादन र सेवाहरूका साथ बदलिँदो जीवनशैली, स्वास्थ्य तथा समयअनुसारको आवश्यकता लाई मध्यनजर राख्दै रेडबुलले नयाँ नयाँ आविष्कारहरूद्वारा विश्वलाई सदैव इनर्जी प्रदान गरिरहने छ ।“

किन बन्द गरिएको थियो नेपालमा कारोवार ?
नेपालमा रेडबुलको आयात गर्न पाइँदैन । यसको कारण हो नेपाल सरकारले यसको आयतमा रोक लगाउनु । डा. युवराज खतिवडा अर्थमन्त्री रहँदा साढे ४ वर्षअघि सबै प्रकारका इनर्जी ड्रिंक्सलाई नेपालमा आयात प्रतिबन्ध गरेका थिए । जसको कारण नेपालमा रेडबुल पनि परेको थियो ।

आयात प्रतिबन्धसँगै नेपालमै यसको उत्पादन गर्न धेरै ठूला घरानाहरु विशाल गु्रप र चौधरी गु्रप लागेका थिए । दुवै कम्पनीले इजाजतकोलागि सरकारी नियायमा आवेदन दिएपनि अन्तत खेतान गु्रपले नै कारोबार गरिरहेको तथा थाइल्यान्डको कम्पनीसँग सम्झौता गरेको आधारमा उद्योग विभागले उसैलाई उत्पादनको अवसर दिएको हो । विशाल ग्रुपको साउथ एसियन बेभरेज प्रालि र चौधरी ग्रुपको सीजी ब्रुअरीले लाइसेन्सको लागि आवेदन दिएका थिए ।