डिजिटल वित्तीय कारोवार गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय कारोवार गर्दा सजगता अपनाउन सचेत गराएको छ ।
वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै केन्द्रीय बैंकले डिजिटल वित्तीय करोवारमा अनलाइन ठगीको जोखिम रहने हुँदा जुनसुकै कारोवार गर्दा अत्यन्तै सावधानीका साथ रकम प्राप्त गर्ने व्यक्तिको विवरण यकिन गरेरमात्र कारोवार गर्न आग्रह गरेको हो ।
यसैगरी, विभिन्न निकायका उच्च पदस्थ व्यक्ति तथा संस्था प्रमुखहरुका नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सएप, भाइबर, मेसेन्जर आदिमा अकाउन्ट बनाई वा ई–मेल आईडी खोली ठगी गर्ने उद्देश्यले विभिन्न बहानामा रकम पठाइदिन सन्देश पठाउने गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।
साथै, आफ्ना चिनजानका व्यक्ति वा उच्च पदस्थ व्यक्तिले सहयोग मागेको जस्तो वा कुनै आग्रह गरेजस्तो देखिने भएकोले यस्ता सन्देशको विश्वास गरी वित्तीय कारावार गर्नुपूर्व सजग भई सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर यकिन भएपछि मात्र वित्तीय कारोवार गर्ने बानी बसाल्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ।
यस्ता ठगी गर्ने व्यक्तिको बहकाउ वा लोभलालच वा झुटो कुरामा विश्वास नगर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ।



