स्वास्थ्यवर्दक लसुनः नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन उत्पादन
लसुन एक महत्वपूर्ण घरेलु औषधि हो। प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ। यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ। नेपालमा वार्षिक रूपमा ९ हजार हेक्टर क्षेत्रफलमा ७२ हजार मेट्रिक टन लसुन खेती हुँदै आएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा ९ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएको थियो । सो क्षेत्रफलबाट ७३ हजार ५ सय ६७ सय मेट्रिक टन लसुन उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष ०७८÷०७९ मा ९ हजार ९ सय ४३ क्षेत्रफलमा लसुन खेती हुँदा ७४ हजार ७ सय ६३ मेट्रिक टन उत्पादन भएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७७÷०७८ मा ९ हजार ७ सय ८४ हेक्टर क्षेत्रफलमा लसुन रोपाई हुँदा ७२ हजार ४ सय ९० मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।
त्यस्तै गरेर, लसुनका फाइदा पनि धेरै रहेका छन् । आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ। यसले पाचन शक्ति बढाउँछ, हृदय र कलेजोलाई उत्तेजक पार्छ। महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ। पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ।
त्यतीमात्र होइन, लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ। लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ। क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ।



