बैंकहरुको नयाँ ब्याजदर कायम, कुन बैंकमा कति ब्याज दर ?

पुस १, काठमाडौं ।
चालू आर्थिक वर्ष २०७७÷०७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले नयाँ ब्याज दर कायम गरेका छन् । वाणिज्य बैंकहरुले बुधबार देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

गत साता नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाले बचतमा दिइने र ऋणमा लिइने ब्याज दरबीचको अन्तर तोकेको थियो । राष्ट्र बैंकले कुल निक्षेपबाहेकको ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याज दरबीचको अन्तर ५ प्रतिशत भन्दा फरक हुन नहुने व्यवस्था गरेको छ । त्यसैअनुरूप नयाँ ब्याज दर आएको हो ।

अब कुन बैंकमा कति ब्याज दर ?

एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले अहिले मुद्दति निक्षेपको ब्याज दर घटाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ६.५ सम्म ब्याज पाइनेछ । बैंकले यसअघि साधारण बचतमा न्यूनतम १.५ प्रतिशत ब्याजदर, व्यक्तिगत मुद्दतिमा ९.७५ प्रतिशत ब्याजदर दिँदै आएको थियो ।

सनराइज बैंक

सनराइज बैंकले बचतमा न्यूनतम २.५ देखि अधिकतम ३.५प्रतिशत सम्म ब्याज दिने भएको छ भने मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.५ ब्याज निर्धारण गरेको छ । १७ प्रकारका बचत योजना ल्याएको सनराइज बैङ्कले विदेशी मुद्रा बचतमा पनि २ प्रतिशत ब्याज दर तय गरेको छ । बैङ्कले मुद्दतीमा भने ७ देखि ९.१० प्रतिशतसम्मको ब्याज दर सार्वजनिक गरेको छ । विभिन्न शीर्षकको कर्जामा १० देखि १३.५ प्रतिशतसम्मको ब्याज दर बैङ्कले तोकेको छ ।

नबिल बैंक
यस्तै नबिल बैंकले नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा ब्याजदर ४ प्रतिशतदेखि बढीमा ८.१० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।नबिल बैंकले बचतमा न्यूनतम १.५० देखि अधिकतम ३.५० सम्म ब्याज दर निर्धारण गरेको छ । एक वर्षे मुद्दतिको ब्याज ७.५० मात्र छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९ देखि ११.५० सम्म ब्याजदरमा कर्जा दिने बताएको छ । बैंकले बिजनेस लोन बढीमा ११.३७ प्रतिशतसम्म तोकेको छ ।

एनएमबी बैंक
एनएमबि बैंकले नयाँ ब्याजदर अन्तर्गत बैंकले मद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी संस्थागततर्फ नयाँको हकमा न्यूनतम ६.७५ प्रतिशतदेखि ८ प्रतिशतसम्म र नवीकरणको हकमा ६.३५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यसमा अधिकतम ५.५ सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५ देखि अधिकतम १२.२४ सम्म ब्याज दर निर्धारण गरेको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५ देखि अधिकतम ४.५ सम्म ब्याजदर तोकेको छ । नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ६.५ प्रतिशतदेखि ५ वर्षभन्दा बढीको हकमा ८.५ प्रतिशत ब्याज दिनेछ । साथै संस्थागततर्फ न्यूनतम ६.५ प्रतिशतदेखि अधिकतम ७.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले अन्य विभिन्न लोनमा १३.९ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंक अफ काठमान्डू
बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ५ प्रतिशतदेखि ७ प्रतिशत ब्याजदर तोकेको छ । बचततर्फ न्यूनतम २.५ देखि अधिकतम ३.५० सम्म ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी संस्थागत मुद्दतितर्फ ५.५ देखि ६.५ प्रतिशतसम्म, नवीकरण हुने मद्दतितर्फ ४.६० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकले बचततर्फ २ देखि ३.५ प्रतिशत र कल डिपोजिटमा बढीमा १ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले फिक्स्ड ब्याजदरतर्फ घर बनाउनका लागि १० वर्षसम्म १०.९८ प्रतिशत ब्याजदर, १५ वर्षसम्मका लागि ११.९८ प्रतिशत र २० वर्षसम्मका लागि १२.९८ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचतको ब्याज १.५ देखि ३.५ तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ६.५ र न्यूनतम ४.५ निर्धारण गरेको छ । यता, बैंकको कात्तिक मसान्तसम्मको आधार दर ८.३७ छ । यसमा न्यूनतम १.५० देखि अधिकतम ५.५ सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।

कुमारी बैंक
कुमारी बैंकले पनि बचत खातामा न्यूनतम १.७५ देखि अधिकतम ४.५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी संस्थागत ५.५० प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याज दर अनुसार बचतको न्यूनतम ब्याजदर २.५ र अधिकतम ४.५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज दर ७.२५ निर्धारण गरेको छ । यो ब्याजदर निश्चित क्षेत्रकाले मात्र पाउँछन् भने आम बचतकर्ताका लागि मुद्दतिमा अधिकतम ब्याज दर ७.५ छ ।

कृषि विकास बैंक
नयाँ ब्याज दर अनुसार कृषि विकास बैंकले बचतको ब्याज ३.५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याज दर ७.२५ कायम गरेको छ ।

नेपाल बैंक
नेपाल बैंकले बचतको न्यूनतम ब्याज २.५ देखि अधिकतम ४.५ सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५ तोकेको छ । असोज मसान्तसम्म बैंकको आधार दर ६.८१ छ । यसमा १.५ देखि ४.६६ सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । स्थिर ब्याजको न्यूनतम ब्याजदर ९.३५ देखि १३.३५ सम्म छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले बचत खाताको न्यूनतम ब्याज दर २.२५ र अधिकतम ४.२५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याज दर भने ९.५ राखेको छ । ९.५ ब्याज दर ५ वर्षभन्दा माथिका निक्षेपकर्तालाई मात्र हो । बैंकले एक वर्षे मुद्दतिको ब्याज दर ७.७५ निर्धारण गरेको छ । त्यस्तै, ३ महिनाको मुद्दतिमा ५.५ र ६ महिनादेखि १ वर्षको लागि ६.७५ प्रतिशत रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.५० र अधिकतम ४.५० राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५ कायम गरेको छ । ८.५ ब्याज ३ वर्षदेखि माथिको मुद्दति निक्षेपका लागि हो । एक वर्षे मुद्दतिको ब्याज साढे ७.५० छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले नयाँ ब्याज दर अनुसार बचतको न्यूनतम ब्याज २.५ देखि अधिकतम ४.५ प्रतिशत सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५ प्रतिशत तोकेको छ । संस्थागत बल्क मुद्दती र संस्थागत विशेष मुद्दतीका लागि पनि ६.५ प्रतिशत ब्याजदर तोकेको छ । बैङ्कले सार्वजनिक गरेका तीनदेखि १० वर्षसम्मका कर्जा योजनाका लागि १०.३२ प्रतिशतदेखि १३.५७ प्रतिशत सम्मको ब्याज दर तोकेको छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैङ्कले साधारण बचतमा २.५ देखि ४.५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दतीमा ७.२५ देखि ८.५० प्रतिशतसम्मको ब्याज दर तोकेको छ । एक वर्षे मुद्दतिको ब्याज भने ८.२५ कायम गरेको छ । बैङ्कले कर्जाको ब्याज दर भने सार्वजनिक गरेको छैन ।

सानिमा बैंक
नयाँ ब्याजदर अनुसार सानिमा बैंकले बचतको ब्याज न्यूनतम २.५० निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको १०.५ निर्धारण गरेको छ । यो ब्याज ५ वर्षे मुद्दतिको हो । एक वर्षे मुद्दतिको ब्याज भने ७.५ छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले बचतमा न्यूनतम २.५ देखि अधिकतम ४.५ सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.५ देखि अधिकतम ७.५० सम्म ब्याजदर दिने भएको छ ।

सिभिल बैंक 

नयाँ ब्याजदर अनुसार बैँकले बिभिन्न बचत खातहरुर्मा  ३ देखि ५ प्रतिशत ब्याजदर तोकेको छ ।  व्यक्तिगत मुद्दति खातामा ७ देखि ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  व्यक्तिगत मुद्दति खातामा तीन देखि १ वर्षका लागि ७ प्रतिशत , १ वर्ष देखि २ वर्षका लागि ८ प्रतिशत , २ देखि ३ वर्षका लागि ८.५० प्रतिशत, ३ वर्ष माथिको लागि ९ प्रतिशत र वार्षिक जम्माको लागि ८.५० प्रतिशत ब्याजदर निर्धारित गरेको छ । यस्तै संस्थागत मुद्दति खातामा ५.१० देखि ६.६० प्रतिशत ब्याजदर तोकेके छ ।  संस्थागत मुद्दति खाता अन्तरगत  छ महिनासम्मका लागि ५.१० प्रतिशत , ६ देखि १२ महिनाका लागि ६.१० प्रतिशत,  १२ देखि १८ महिनाका लागि ६.२५ प्रतिशत र १८ महिना माथिका लागि ६.६० प्रतिशत ब्याजदर घोषणा गरेको छ ।