जटिल रोग उपचारका लागि स्वास्थ्य बीमाबाट थप एक लाख उपलब्ध हुने

जटिल रोग उपचारका लागि स्वास्थ्य बीमाबाट थप एक लाख उपलब्ध हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगहरूको उपचारमा स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख रुपैयाँसम्म उपचार सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको मन्त्रीस्तरीय निर्णयपछि स्वास्थ्य बीमा कोषले अब क्यान्सर, मुटु रोग, मिर्गौला समस्या, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर रोगका बिरामीलाई अतिरिक्त एक लाख रुपैयाँ बीमा सेवामा समावेश गर्ने तयारी गरेको हो।

स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ अनुसार कडा प्रकृतिका रोगका बिरामीलाई आवश्यकताअनुसार थप सहयोग दिन मिल्ने व्यवस्था छ। सोही आधारमा मन्त्रालयले बीमा बोर्डलाई कार्यान्वयनतर्फ अघि बढ्न निर्देशन दिएको हो।

यस निर्णयपछि बीमित नागरिकले अब कुल दुई लाख रुपैयाँसम्म उपचार सेवा पाउने छन्। विपन्न कार्यक्रमअन्तर्गत थप एक लाख पाउने व्यवस्थालाई भने यथावत राखिएको छ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा प्रणालीलाई आकर्षक र दिगो बनाउन ‘बीमा सेवा थैली’ तयार गर्ने पहलसमेत सुरु गरेका छन्। तर, बीमा सुविधा थैली निर्माण गर्दा कोषको दुरुपयोग हुन नदिन स्वास्थ्य बीमा बोर्डलाई विशेष ध्यान दिन निर्देशन दिइएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले सुझाव दिएको छ कि थैली तयार गर्दा रोगको भार, नागरिकको आवश्यकता, लागत-प्रभावकारिता र वित्तीय दिगोपनालाई आधार मानेर सुविधा निर्धारण गर्नुपर्छ।