वैज्ञानिकहरूद्धारा १० हजार वर्षअघि लोप भएको डायर उल्फ फिर्ता ल्याएको दाबी
अमेरिकाको टेक्सासस्थित कोलोसल बायोसाइन्सेसका वैज्ञानिकहरूले करिब १० हजार वर्षअघि पृथ्वीबाट लोप भएको डायर उल्फ प्रजातिलाई पुनर्जन्म दिएको दाबी गरेका छन्। जेनेटिक सम्पादन प्रविधिको प्रयोग गरी उनीहरूले डायर उल्फका तीन बच्चा उत्पादन गरेको जानकारी दिएका छन्।
वैज्ञानिकहरूले ११,५०० वर्ष पुरानो जीवावशेषबाट प्राप्त प्राचीन डीएनएको विश्लेषण गरी डायर उल्फको जीनबारे जानकारी सङ्कलन गरेका थिए। त्यसपछि उनीहरूले डायर उल्फको सबैभन्दा नजिकको जीवित नातेदार, खैरो ब्वाँसोको जीनमा परिवर्तन गरेर यो प्रयोग सम्पन्न गरेका हुन्।
यी बच्चाहरूलाई जन्माउन सरोगेट मदरको रूपमा घरपालुवा कुकुर प्रयोग गरिएको छ। उत्पादित तीन छाउरामध्ये रोमुलुस र रेमस नामका दुई छाउरा ६ महिनाका छन् भने खालिसी नामकी छाउरी २ महिनाकी छिन्। यो जानकारी अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले सार्वजनिक गरेको हो।
६ महिनाको उमेरमा रोमुलुस र रेमसको लम्बाइ ४ फिट र तौल ३६ किलो पुगेको छ। १० हजार वर्षअघि अमेरिकी महादेशमा पाइने डायर उल्फ, कुकुर वर्गका अन्य अमेरिकी जनावरभन्दा ठूलो आकारको हुने गर्थ्यो। ‘गेम अफ थ्रोन्स’ शृङ्खलाको काल्पनिक पात्रले यो प्रजातिलाई चर्चित बनाएको थियो।
यो प्रयोगलाई वैज्ञानिक इतिहासमा लोप भएको प्रजातिलाई पुनर्जनन गरेको पहिलो घटनाका रूपमा हेरिएको छ। यद्यपि, स्वतन्त्र विज्ञहरूले यी नयाँ बच्चाहरूलाई पूर्ण रूपमा डायर उल्फ नभई खैरो ब्वाँसोको परिमार्जित संस्करण भएको तर्क गरेका छन्, जसलाई बीबीसीले उल्लेख गरेको छ।



