घरको पाँच तलाबाट हामफालेका व्यवसायीको उपचारका क्रममा मृत्यु

घरको पाँच तलाबाट हामफालेका व्यवसायीको उपचारका क्रममा मृत्यु

आफ्नै घरको पाँच तलाबाट हामफालेका धनगढीका एक व्यवसायीको मृत्यु भएको छ।

धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बुधबार बिहान करिब ११ः२० बजे हाम्फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो ।

कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले उपचारको क्रममा अग्रवालको मृत्यु भएको बताए ।

अग्रवालले हाम फालिरहेको दृश्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए । छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए ।

अहिले अग्रवालको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।

स्थानीयले घरायसी विवादका कारण व्यवसायी अग्रवालले आत्महत्या गर्ने सोचले छतबाट हामफालेको बताएका छन्।

प्रहरीले भने उनले के कारणले हामफाले भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
अग्रवाल लामोसमयदेखि धनगढीमा कस्मेटीक सामानको होलसेल ब्यापार गर्दै आएका थिए।