बोलीबन्द भएको ३४ वर्षपछि भजन शिरोमणी आचार्यले हामीबाट लिए विदा

बोलीबन्द भएको ३४ वर्षपछि भजन शिरोमणी आचार्यले हामीबाट लिए विदा

धनकुटाको दुर्गम स्थान कुरुले तेनुपामा वि.सं. १९९९ सालमा जन्मिएका चर्चित गायक, संगीतकार भजन शिरोमणी भक्तराज आचार्य अव हामी माझ छैनन् । गीत गाउन असमर्थ भएको ३४ वर्षपछि भजन शिरोमणी आचार्य सधैंका लागि हामीबाट विदा भएका हुन । आचार्य डेढ वर्षको हुँदा बाबु बलभद्रको निधन भएपछि आमा रेनुका सहित परिवार भारतको डुवर्सतर्फ बसाइँसराइ गरेका थिए । बसाइँ सरेर गएपछि भने आचार्य जन्मस्थान पुगेका थिएनन् ।

भक्तराज आचार्यको जीवनमा एउटा यस्तो घटना घट्यो जसको उनले कल्पनासमेत गरेका थिएन् । उनलाई २०४६ सालमा एउटा बज्रपात आइलाग्यो । उनीमाथि काठमाडौंको बौद्धमा सांघातिक आक्रमण भयो । उनको त्यो चोट निको नहुँदै अर्को बज्रपात आइलाग्यो । २०५० मा उनको जिब्रो काट्नु पर्यो र त्यो घटनापछि उनको गायन यात्रामा पूर्ण बिराम नै लाग्यो । त्यो बेला नै हो नेपाली सांगीतिक क्षेत्रले एउटा बहुमूल्य प्रतिभाको आवाजलाई गुमायो र नेपाली सांगीतिक क्षेत्रमा अपूरणिय क्षति भयो ।

भजन शिरोमणी भक्तराज आचार्य केवल गायकमात्र नभएर कुशल संगीतकार पनि थिए । यी दिग्गज संगीतकर्मीले झण्डै पाँच सय सय गीतमा आवाज दिएका थिए ।
भक्तराज आचार्य गायकमात्रै होइन कुशल संगीतकार पनि थिए । मुटु जलिरहेछ, जति चोट दिन्छौँ, हजार सपना, माया मेरी साँझ बनी, जीवन भन्नु त घात छ, यहाँ जिन्दगीले लगायत झण्डै पाँच सय गीतमा आवाज दिएका संगीतकर्मी आचार्यको निधनमा यतिबेला सांगीतिक क्षेत्र शोकाकूल बनेको छ ।

तन मन वचनले, प्रभु नामसहित दर्जनौं लोकप्रिय भजनहरु गाएर भजन शिरोमणीको उपाधि प्राप्त गरेका आचार्यका आधुनिक गीत पनि उत्तिकै लोकप्रिय रहेका छन् । आधुनिक शैलीका गीत र भजनबाट उनलाई विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित गरिएको थियो ।

उनको सबै भन्दा ठूलो सम्मान भनेकै भजन शिरोमणीको उपाधि प्राप्त गर्नु हो । उनलाई पद्मश्री पुरस्कारबाट पनि पुरस्कृत गरिएको थियो । त्यस्तै उनले गोरखा दक्षिण बाहु पदकबाट पनि सम्मानित गरिएको थियो । गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट (पहिलो), विरेन्द्र–ऐश्वर्या सेवा पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय संगीत सम्मान २०७५ संगै विभिन्न समारोहहरुमा लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुन सफल थिए ।

आचार्यको जीवनीमाथि ‘आचार्य’ नामक नेपाली फिल्म नै बनेको छ, जसमा भक्तराज आचार्यको जीवनका हरेक उतार–चढावको बारेमा देखाइएको छ । उक्त फिल्ममा सत्यराज आचार्यले नै भक्तराज आचार्यको भूमिका निर्वाह गरेका छन् । उनले नेपाली सांगीतिक क्षेत्रलाई सत्यराज–स्वरूपराज आचार्य जस्ता गायक छोरा उत्तराधिकारीको रूपमा दिएका छन् । सामाजिक सञ्जालमा भजन शिरोमणि आचार्यप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गरिँदैछ । अधिकांश संगीतकर्मीहरुले उनका लोकप्रिय गीतका शब्दहरु शेयर गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।