ब्रोकर चुक्ता पुँजी वृद्धि समय चैत मसान्तसम्म थप्ने सेबोनको तयारी
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तोकेको चुक्ता पुँजी पुर्याउन धितोपत्र ब्रोकर कम्पनीलाई समय थप गर्ने भएको छ । ब्रोकरहरुलाई चुक्ता पुँजी पुर्याउन असार मसान्तसम्मको समय सीमा दिइएको थियो । उक्त समय सीमा सकिँदै गर्दा सेबोनले पुँजी वृद्धिका लागि थप अवधि उपलब्ध गराउन लागेको हो ।
सेबोनले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पूँजी र्पुयाउने समय चैत मसान्तसम्म कायम गर्न खोजेको छ । नियमावली संशोधन गर्न अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ ।
‘धितोपत्र ब्रोकर मर्जरसम्बन्धी निर्देशिका ढिला आउँदा केही समस्या भएको छ । चुक्ता पुँजी बढाउने अवधि चैत मसान्तसम्म कायम गर्नेगरी नियमावली संशोधन गर्न प्रस्ताव गरेका छौं,’ नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले भने ।
बोर्डले ब्रोकर कम्पनीलाई चुक्ता पूँजी बढाउनेगरी समयावधि पहिले नै तोके पनि मर्जरबाट पुँजी पुर्याउने सम्बन्धी निर्देशिका भने गत चैतमा मात्रै तयार गरेको थियो । मर्जर मार्फत चुक्ता पुँजी तीन महिनाको अवधि कम भएको भन्दै ब्रोकरहरुले समय थप गर्न माग गरेका थिए ।
सेबोनले सीमित कार्य गर्ने ब्रोकर कम्पनीलाई चुक्ता पूँजी २० करोड तथा पूर्ण कार्य गर्नेका लागि ६० करोड रुपैयाँ तोकिएको छ । पछि लाइसेन्स पाएका नयाँ ब्रोकर कम्पनी सबैले तोकिएको चुक्ता पुँजी पुगेको छ । तर पुराना अधिकांशको पुगेको छैन । पछिबाट सञ्चालनमा आएका ४० सहित अहिले कुल ९० ब्रोकर कम्पनी सञ्चालनमा छन् ।
पुराना ५० ब्रोकर कम्पनीमध्ये दुई दर्जन कम्पनीले चुक्ता पूँजी र्पुयाउन बाँकी रहेको सेबोनले जानकारी दिएको छ । नयाँ ब्रोकर कम्पनी सञ्चालनमा आउनुअघि सीमित कार्य गर्नेका लागि जम्मा २ करोड चुक्ता पूँजी तोकिएको थियो भने पूर्ण कार्य गर्नेका लागि २० करोड थियो ।



