सुन र बहुमूल्य पत्थरमा लगाइएको कर पुनरावलोकन गर्न चेम्बरको अर्थमन्त्रीलाई आग्रह
नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनमा प्रस्तावित २ प्रतिशत विलासिता कर र हिरा लगायतका बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पुनरावलोकन गर्न अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ। चेम्बरले यी करहरू अव्यावहारिक रहेको र यसले उपभोक्ता तथा व्यवसायी दुवैलाई गम्भीर असर पार्ने बताएको छ।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल को नेतृत्वमा गएको पदाधिकारी टोलीले अर्थमन्त्री पौडेललाई भेटी बुझाएको ज्ञापनपत्रमा प्रस्तावित करहरूले वर्तमान आर्थिक अवस्थामा नकारात्मक प्रभाव पार्ने उल्लेख छ। चेम्बरका अनुसार, सरकारको यो कर नीतिले सुन, चाँदी तथा रत्न आभूषणको व्यवसाय सञ्चालन गर्न कठिन हुनेछ र यस क्षेत्रमा संलग्न लाखौँ व्यक्तिले रोजगारी गुमाउने अवस्था आउनेछ।
अध्यक्ष अग्रवालले अर्थमन्त्रीलाई यस विषयमा गम्भीरतापूर्वक विचार गरी सरकारको निर्णय पुनरावलोकन गर्न आग्रह गरेका छन्। प्रत्युत्तरमा, अर्थमन्त्री पौडेलले चेम्बरको सुझावलाई गम्भीरताका साथ लिने प्रतिबद्धता जनाउँदै सरोकारवाला निकायहरूसँग छलफल गरेर समस्या समाधान गर्ने आश्वासन दिएका छन्।



