हस्पिटालिटीमा लगानी बढाउँदै गोल्यान ग्रुप, ४ अर्ब लगानीमा लुम्बिनीमा बन्दै पाँचतारे होटल
नेपालका ठूला व्यवसायिक समूहहरू उत्पादनमुखी क्षेत्रबाट सेवा क्षेत्रतर्फ प्रवेश गर्दै होटल क्षेत्रमा आक्रामक रुपमा लगानी बढाउन थालेका छन्। जलविद्युत्, बैंकिङ, बीमा, रियल स्टेट र टेक्सटाइलमा सक्रिय रहेको गोल्यान ग्रुपले अब लुम्बिनीमा दोस्रो पाँचतारे होटल निर्माण गर्न लागेको छ।
ग्रुपले यसअघि काठमाडौंको सोल्टीमोडमा ‘ह्यात सेन्ट्रिक’ ब्रान्डअन्तर्गतको सिटी होटल सञ्चालनमा ल्याइसकेको छ। सन् २०२१ नोभेम्बरदेखि सञ्चालनमा आएको उक्त होटलमा १४ तला र १५३ कोठा छन्। यस होटलले साधारण सेयर (IPO) समेत जारी गरिसकेको छ।
गोल्यान ग्रुपको दोस्रो होटल परियोजना लुम्बिनीको मायादेवी गाउँपालिका–४ मा बन्ने भएको हो। ‘वेद हस्पिटालिटी’ ब्रान्डमा निर्माण हुने यो होटलमा करिब ४ अर्ब रुपैयाँ लगानी हुनेछ। यसमध्ये ७५ प्रतिशत (२ अर्ब ८० करोड) बैंक ऋण र बाँकी २५ प्रतिशत (१ अर्ब २० करोड ६० लाख) स्वपुँजी हुनेछ।
वेद हस्पिटालिटीका अनुसार होटल सन् २०२८ को जनवरीदेखि व्यवसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ। होटलको सिभिल, आर्किटेक्चर र ल्यान्डस्केप डिजाइनको परामर्शदाता नियुक्त भइसकेका छन्।
साढे १० विघा (६९ हजार ४८५ वर्गमिटर) क्षेत्रफलमा फैलिने होटलको ग्राउन्ड कभरेज २१.२५ प्रतिशत रहनेछ। खुला क्षेत्र ३३.७५ र हरियाली क्षेत्र ४५ प्रतिशत रहने वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदनमा उल्लेख छ।
होटलमा १७७ कोठासहित, वेलकम ब्लक, क्यासिनो ब्लक, चार होटल ब्लक र पाँच भिल्ला ब्लक गरी ११ वटा भवन निर्माण गरिनेछ। साथै, बैंक्वेट हल, मिटिङ हल, स्पा, साउना, मसाज, फिटनेस सेन्टर, ज्याकुजी, र स्विमिङ पूलजस्ता पाँचतारे सुविधाहरु पनि रहनेछ।
भैरहवा विमानस्थलबाट ८ किलोमिटर र भारतीय सीमावर्ती नौतुनवा रेल्वे स्टेशनबाट ३८ किलोमिटर टाढा रहेको यो होटल धार्मिक पर्यटन मात्र नभई, भारत–नेपाल सीमा क्षेत्रका लागि वेडिङ डेस्टिनेस र कर्पोरेट कार्यक्रमको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
वेद हस्पिटालिटीले ‘ह्यात रिजेन्सी’ ब्रान्डअन्तर्गत होटल सञ्चालन गर्नेछ, जसको व्यवस्थापन ह्यात इन्टरनेसनल साउथ वेस्ट एसिया लिमिटेड (HMA) द्वारा गरिनेछ।
सन् २०२२ मा स्थापना भएको वेद हस्पिटालिटीले यस परियोजनालाई नेपाल–भारत पर्यटन प्रवर्द्धनको प्रमुख आधार बनाउने लक्ष्य लिएको छ। यो लगानीसँगै लुम्बिनी क्षेत्रीय विकास र स्थानीय रोजगारीमा समेत सकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको छ।



