सन्ध्याकालीन सेवा शुरू भएपछि चिडियाखानामा पर्यटकको चाप बढ्यो
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा सन्ध्याकालीन सेवा सुरू भएसँगै अवलोकनकर्ताको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।
गत वैशाख १ गतेदेखि चिडियाखानाले बेलुका ७ बजेसम्म खुला रहने व्यवस्था लागू गरेसँगै, वैशाख १५ देखि जेठ १५ सम्मको अवधिमा ९९ हजार २१९ जनाले चिडियाखाना अवलोकन गरेका छन्। यो संख्या अघिल्लो वर्ष सोही अवधिको तुलनामा १४ हजार ८८३ जनाले बढी हो। चिडियाखानाका प्रमुख सत्यनारायण साहका अनुसार, सेवाग्राहीको वृद्धिसँगै झन्डै २५ लाख रुपैयाँ आम्दानी भएको छ।
पहिले चिडियाखाना बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र खुल्ने गथ्र्यो। नयाँ तालिकाले दुई घण्टा थप समय दिइएपछि विशेषगरी परिवार, विद्यार्थी र जागिरे वर्गका आगन्तुकहरूलाई सजिलो भएको छ। अहिले चिडियाखानामा दैनिक औसत दुई हजार जनाको आवागमन हुने गरेको छ।
प्रवेश शुल्कतर्फ नेपाली वयस्कका लागि २००, विद्यार्थीका लागि १३५, ज्येष्ठ नागरिकका लागि १००, र बालबालिकाका लागि ७५ रुपैयाँ निर्धारण गरिएको छ। सार्क मुलुकका नागरिकलाई ५०० र अन्य विदेशी नागरिकलाई १००० रुपैयाँ शुल्क तिर्नुपर्छ।
विसं १९८९ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले निजीरूपमा स्थापना गरेको यो चिडियाखाना विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो। चिडियाखानामा हात्ती, बाघ, गैँडा, चिम्पाञ्जी, भालु, हिप्पोपोटामस, घडियाल गोहीलगायत थुप्रै दुर्लभ तथा आकर्षक वन्यजन्तु छन्। सन्ध्याकालीन सेवा विस्तारसँगै चिडियाखानाले आम्दानी बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याएको देखिएको छ।



