कोरोनाबाट विश्वभर १ लाख ६० हजारले ज्यान गुमाए
बैशाख ७, एजेन्सी ।
कोरोना भाइरसको महामारीबाट विश्वभर १ लाख ६० हजार बढीको मृत्यु भएको छ । २३ लाख २८ हजार बढीमा संक्रमण पुष्टी भएको छ । ५ लाख ९५ हजार २ सय १७ जना निको भएको अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ । युरोपमा मात्र १ लाख ५ सय १० जनाको मृत्यु भएको हो । अमेरिकामा मृत्यु हुनेको संख्या ३१ हजार पुगेको छ । क्यानडाले अमेरिकासँगको सिमा थप ३० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । स्पेनमा महामारीका कारण २० हजार माथिकाले ज्यान गुमाएका छन् ।
टर्कीमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएर ८२ हजार ३ सय २९ पुगेको छ । भारतमा हालसम्म १४ हजार ७ सय ९२ जनामा संक्रमण पुष्टी भएको छ । ४ सय ८८ जनाको मृत्यु भएको छ ।
चीनमा एक महिनायताकै न्यून १६ जना नयाँ संक्रमित फेला परेका छन् । दक्षिण कोरियामा संक्रमण फैलिएयता पहिलो पटक नयाँ संक्रमतिको संख्या ८ जनामा झरेको छ । जसमध्ये ५ वटा केस आयातीत हुन् । दक्षिण कोरियामा हालसम्म १० हजार ६ सय ६१ जनामा संक्रमण पुष्टी भएको छ, जसम्धये २ सय ३४ जनाको मृत्यु भएको छ ।



