नेपाल एअरलाइन्सका विमानमा भ्रमण वर्षको लोगो राति ८ बजेसम्म टिकट बिक्री गरिने

सोमबार ९, मंसिर २०७६ काठमाण्डौ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल वायुसेवा निगमले पनि सहयोग गर्ने भएको छ । निगमको कार्यकारी समितिको बैठकले नेपाल भ्रमण वर्षलाई सघाउ र्पुयाउन विभिन्न प्रवद्र्धनात्मक काम गर्ने निर्णय गरेको हो ।
यस्तै नेपाल भ्रमण वर्ष २०२० मा नेपाललाई पर्यटकका लागि आकर्षक गन्तव्य बनाउनुका साथै देशको परिचयलाई थप सुदृढ बनाउन विज्ञसहितको डिजिटल मिडिया एवम् सामग्री बनाएर पर्यटक आकर्षित गर्ने कार्यनीति बनाइएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी निगमले डिजिटल मिडियाबाट फेसबूक, ट्विटर, इन्स्टाग्राम र यूट्युबमा पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री प्रसारण गर्नेछ । निगमले गुणस्तरीय सेवासहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालयको बिक्री कक्ष रातको ८ बजेसम्म खुला राख्ने भएको छ । यस्तै काठमाण्डौका होटल तथा टुर अपरेटर व्यवसायीहरुसँग सम्झौता गरी विदेशवाट आएका यात्रुहरुलाई निगमका बाह्य स्टेशनबाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था गरिने निगमले जनाएको छ ।