बंगलादेशले अपर कर्णालीको ५०० मेगावाट बिजुली खरिद योजना स्थगित गर्दै
नेपालको ९०० मेगावाट क्षमताको अपर कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली लैजाने बंगलादेशको योजना अन्योलमा परेको छ। बंगलादेश सरकारले स्पेसल पावर एक्ट अन्तर्गत भएका सबै सम्झौताहरू स्थगित गर्ने निर्णय गरेसँगै भारतीय कम्पनी जीएमआर इनर्जीसँगको प्रस्तावित सम्झौता रद्द गर्ने तयारी भइरहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।
बंगलादेशी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले नेपालबाट ५०० मेगावाट बिजुली लैजाने योजना अनिश्चित भएको उल्लेख गरेका छन्। यो योजना त्रिदेशीय मोडेलमा (नेपाल–भारत–बंगलादेश) कार्यान्वयन गरिने बताइएको थियो, तर बंगलादेशले यसलाई अघि नबढाउने संकेत दिएको छ।
बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड (ऊर्जा विकास बोर्ड) का अध्यक्ष इन्जिनियर रेजाउल करिमले सरकारले स्पेसल पावर एक्ट अन्तर्गत भएका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेको बताएका छन्। यस निर्णयसँगै जीएमआरसँगको प्रस्तावित सम्झौता पनि स्वतः रद्द हुने मान्न सकिने उनको भनाइ छ।
बंगलादेशले भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट बिजुली लैजाने योजना बनाएको थियो। अहिले पनि नेपालबाट ४० मेगावाट बिजुली भारत हुँदै बंगलादेश निर्यात भइरहेको छ। तर, बंगलादेशी सञ्चारमाध्यमहरूले यो प्रसारण लाइन मार्गप्रति भूराजनीतिक र रणनीतिक चासो देखाउँदै प्रश्न समेत उठाएको उल्लेख गरेका छन्। बंगलादेशी अधिकारीहरूको भनाइमा अहिलेको अन्तरिम सरकार यो आयोजना अघि बढाउने विषयमा खासै इच्छुक देखिएको छैन।
सन् २०२४ मा बंगलादेशले भारतको जीएमआर इनर्जीसँग एमओयू (Memorandum of Understanding) गरेर नेपालबाट ५०० मेगावाट बिजुली लैजाने योजना अघि सारेको थियो। सन् २०२३ मे मा भएको नेपाल–भारत–बंगलादेशको स्टेयरिङ कमिटी बैठकमा बंगलादेशका ऊर्जा सचिव मोहम्मद हाबिबुर रहमान र भारतका ऊर्जा सचिव आलोककुमारको उपस्थितिमा यससम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो।
विद्युत् व्यापारसँगै बंगलादेशले नेपालसँग संयुक्त लगानीमा जलविद्युत् आयोजना गर्ने रुचि पनि देखाएको थियो। तर, स्पेसल पावर एक्ट अन्तर्गत भएका अन्य परियोजनाहरू जस्तै तेल, ग्यास, ऊर्जा उत्पादन तथा खरिद सम्बन्धी सम्झौताहरू पनि वर्तमान सरकारद्वारा खारेज गरिँदै गएको सन्दर्भमा अपर कर्णाली जीएमआर परियोजना पनि स्थगित हुने स्पष्ट देखिएको छ।
नेपालले बंगलादेशमा पहिलो पटक गत वर्ष कात्तिक १८ (जुलाई १५) मा विद्युत् निर्यात गरेको थियो। यस वर्षका लागि पनि असार १ (जुन १५) राति १२ बजेदेखि ४० मेगावाट विद्युत् निर्यात सुरु भइसकेको छ। भारतीय प्रसारण लाइन प्रयोग गरेर वर्षायाममा बिजुली निर्यात गरिँदै आएको छ। नेपाल विद्युत् प्राधिकरणले यो वर्षाको पाँच महिना निरन्तर बंगलादेशमा विद्युत् निर्यात गर्ने उल्लेख गरेको छ।



