दैनिक १२ करोड रूपैयाँ बराबरको बिजुली बिक्री गर्दै नेपाल
नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक औसत ७०० मेगावाट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गर्दै आएको छ। भारतसँगको व्यापारमा प्राधिकरणले ‘डे-अहेड’, ‘रियल टाइम मार्केट’ र मध्यकालीन सम्झौताहरूबाट नियमित रूपमा विद्युत् आपूर्ति गरिरहेको छ।
विद्युत् प्राधिकरणले सन् २०२१ को कात्तिक १६ (२०७८ साल) मा पहिलोपटक भारतमा विद्युत् बिक्रीको अनुमति पाएपछि लगातार रूपमा नाफा कमाउन थालेको हो। अहिले ढल्केवर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत द्विपक्षीय सम्झौताअन्तर्गत २०० मेगावाट र भारतको हरियाणा र बिहारमा १२५ मेगावाट विद्युत् आपूर्ति भइरहेका छन्। यो मिडियम टर्म सम्झौता अन्तर्गत चौबिसै घण्टा विद्युत् आपूर्ति हुने प्रवक्ता राजन ढकालले जानकारी दिए।
ढकालका अनुसार, बिहीबार एकैदिन भारतीय बजारबाट ११ करोड ५४ लाख रुपैयाँको आम्दानी भएको छ। उक्त दिन १५ हजार ५३३ मेगावाट–आवर विद्युत् निर्यात गरिएको थियो, जसमा ८ हजार ७४० मेगावाट–आवर द्विपक्षीय सम्झौताबाट र ६ हजार ७९३ मेगावाट–आवर आईईएक्समार्फत बिक्री भएको हो। यसबाट प्रति युनिट औसत मूल्य ७ रुपैयाँ ४३ पैसा प्राप्त भएको उनले बताए।
बंगलादेशमा पनि नेपालले ४० मेगावाट विद्युत् निर्यात गरिरहेको छ। गत वर्षको असोज १७ गते नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय सम्झौता भएपछि २०८१ असार १ (जुन १५) देखि यो आपूर्ति सुरु भएको हो। बंगलादेश जाने बिजुली ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन हुँदै नै पठाइन्छ।
त्यस्तै, भारतको खुला बजारमा पनि नेपालले औसतमा दैनिक २५० देखि ३५० मेगावाट विद्युत् बिक्री गर्दै आएको छ। आईईएक्स प्रणालीअन्तर्गत प्रतिस्पर्धात्मक दरमा बिक्री हुने यो प्रणालीले प्राधिकरणको आम्दानीमा उल्लेख्य योगदान पुर्याएको छ।
गत वर्ष नेपालले भारतलाई १७ अर्ब ७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो भने १६ अर्ब ९३ करोड बराबरको आयात गरेको थियो। चालु आर्थिक वर्षका लागि प्राधिकरणले २० अर्ब रुपैयाँको निर्यात लक्ष्य राखेको भए तापनि तामाकोसीलगायत आयोजनामा भएको क्षतिका कारण १८ अर्ब रुपैयाँ बराबरको निर्यात हुने अनुमान गरिएको छ।
एक समय उच्च घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आज नाफाको शिखरमा पुगेको छ। २०७२/७३ सम्म प्राधिकरणलाई नेपाल वायु सेवा निगमजस्तै घाटामा चल्ने संस्थाका रूपमा चिनिन्थ्यो। २०७०/७१ मा मात्र प्राधिकरणले ४ अर्ब ७० करोड रुपैयाँको खुद नोक्सानी व्यहोरेको थियो।
तर आर्थिक वर्ष २०७३/७४ देखि प्राधिकरणले नाफा कमाउन सुरु गर्यो। पहिलो वर्ष १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएपछि लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण, सुधारिएको व्यवस्थापनलगायतका कदमहरूले नाफाको लय कायम रह्यो। आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ४३ करोड, २०७५/७६ मा ११ अर्ब ७५ करोड, २०७८/७९ मा १३ अर्ब ३७ करोड, २०७९/८० मा ९ अर्ब ४१ करोड र हालसम्मकै पछिल्लो तथ्यांक अनुसार गत वर्ष १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको प्राधिकरणले जनाएको छ।
यससँगै, २०७२/७३ देखि निरन्तर नाफामा रहेको यो सार्वजनिक संस्था देशकै उदाहरणीय मोडेल बन्दै गएको छ। विद्युत् निर्यातको परिमाण वर्षेनी वृद्धि हुँदै गएको छ। गत आर्थिक वर्षमा मात्रै १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणले जनाइएको छ।



