चम्पादेवी इकोफ्रेन्ड्लीले छ अर्ब लगानीमा केबलकार बनाउँदै
निजी लगानीमा डिलक्स रिसोर्टसहित धमाधम केबलकार निर्माण भइरहेका छन् ।चितवन कोइ समूहले मनकामना केबलकार सञ्चालन गरेको झण्डै दुई दशकपछि मुलुकमा केबलकार सञ्चालनको बाढी नै आएको छ ।
बैंकहरुले पनि ठूला संभावना देखेर पछिल्लो समयमा केबलकार पूर्वाधारमा लगानी बढाइरहेका छन् । अहिलेसम्म मनकामना, कालिञ्चोक, चन्द्रागिरी, मौलाकाली, लुम्बिनी, अन्नपूर्ण र बन्दीपुर गरी आधा दर्जन बढी केबलकार सञ्चालन भइरहेका छन् । अहिले आधा दर्जन बढी केबलकार निर्माणको चरणमा छन् । मनकामनले पोखरामा दोस्रो केबलकार सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
केबलकारको तल्लो स्टेशन दक्षिणकाली नगरपालिका वडा नम्बर १ को बोसनमा रहने भएको छ । यस्तै माथिल्लो स्टेशन कीर्तिपुरको वडा नम्बर ४ मा हुने प्रस्ताव गरिएको चम्पादेवी इकोले जनाएको छ । प्रस्तावित केबलकारको लम्बाइ दुई किलोमिटर हुनेछ ।
यस्तै राजधानीमा चन्द्रागिरीपछि कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा छ अर्ब रुपैयाँ लगानीमा चम्पादेवी केबलकार सञ्चालन हुन लागेको छ । केबलकार पूर्वाधारको काम अहिले प्रारम्भीक चरणमा रहेको छ । चम्पादेवी इकोफ्रेन्डली कम्पनी प्रालिले केबलकार पूर्वाधार बनाउन वातावरणीय प्रभाव मूल्यांकनको काम सम्पन्न गरेको छ । वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव प्रतिवेदनमा स्थानीयसँग सुझाव मागेको छ ।
केबलकार केबल स्टिल वायर रोपको हुनेछ भने प्रतिसेकेन्ड छ मिटरको गतिमा सञ्चालन हुने चम्पादेवीले जनाएको छ । तलबाट माथिल्लो स्टेशनमा पुग्न सात मिनेट लागने विकासकर्ता कम्पनी चम्पादेवीले जनाएको छ ।
तल्लो स्टेशनमा तीन तले भवन र गाडी पार्किङ संरचना बन्ने भएको छ । माथिल्लो स्टेशनमा मनोरञ्जन पार्कसहित दुई तलाको भवन बनाउन प्रस्ताव गरिएको छ । सरकारले केबलकार परियोजना सञ्चालन गर्न चम्पादेवी इकोलाई ४० वर्षका लागि २२ हेक्टर बन क्षेत्र दिएको छ ।
प्रस्तावित केबलकारमा ३४ वटा यात्रु बोक्ने केविन प्रकृतिको बक्स (गोन्डला) जुन पूर्ण रुपमा बन्द हुनेछ । यस्तै दुईवटा सामान बोक्ने र एउटा मर्मत गर्ने गोण्डला रहने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । एउटा गोन्डालामा १० जना अट्नेछ । केबलकारमा १२ वटा टावर जडान गरिने भएको छ । केबलकार सञ्चालन गर्न दुई मेगावाट बिजुली चाहिने कम्पनीले जनाएको छ ।
माथिल्लो स्टेशनमा रहेको चम्पादेवी मन्दिर चम्पादेवी फाउन्डेसनले सञ्चालन गर्ने बताइएको छ । हाल सञ्चालनमा आइसकेका, निर्माणधिन र निर्माणको तयारीको चरणमा रहेका गरी १४ केबुलकारमा मात्र हालसम्म १ खर्ब रुपैयाँ लगानी हुने देखिएको छ । ५७ अर्ब रुपैयाँ लगानीमा विश्वकै लामो मुक्तिनाथ केबलकार निर्माणको तयारी भइरहेको छ ।
केबुलकार सञ्चालन भएको ठाउँमा होटल तथा रिसोर्ट निर्माण हुनुका साथै सडक, बिजुली, खानेपानीलगायत सुविधामा विस्तार हुने तथा विकट ठाउँमा रहेका पौराणिक मठमन्दिरको सहज पहुँच हुन गई धार्मिक, पर्यावरण, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन विस्तारमा थप टेवा पुगिरहेको छ । केबुलकार सञ्चालनपछि नयाँ पर्यटकीय पूर्वाधार बनेको छ ।



