बीमा ऐन उल्लंघन गर्दै एशियन लाईफले गर्यो निर्वाचन तालिका सार्वजनिक
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०७९ र कम्पनी ऐन २०६३ दुवैको प्रावधानलाई चुनौती दिँदै ६ सदस्यीय सञ्चालक समिति गठन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको छ। कम्पनीको यस निर्णयले कानुनको उल्लङ्घन मात्र नभई साधारण शेयरधनीको प्रतिनिधित्वमा समेत गम्भीर प्रश्न उठाएको छ।
बीमा ऐन २०७९ को दफा ४७ अनुसार बीमकको सञ्चालक समितिमा एक स्वतन्त्र सञ्चालकसहित कम्तीमा पाँच र बढीमा सात जना सञ्चालक हुनुपर्ने व्यवस्था छ। यस्तै, कम्पनी ऐन २०६३ को दफा ८६ ले सञ्चालक समिति सदस्य विषम संख्यामा हुनुपर्ने र न्यूनतम ३ देखि अधिकतम ११ जनासम्मको सञ्चालक समिति हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। यसका बाबजुद, एशियन लाइफ इन्स्योरेन्सको निर्वाचन समितिले जोड संख्यामा (६ सदस्यीय) सञ्चालक समिति गठनको तयारी गरेको छ, जुन दुवै ऐनको ठाडो उल्लङ्घन हो।
निर्वाचन अधिकृत रत्नसुन्दर खुजुले हस्ताक्षर गरेको सूचनाअनुसार, निर्वाचन प्रक्रियाबाट जम्मा ५ जना सञ्चालक चयन गरिनेछ। अर्का एक स्वतन्त्र सञ्चालकको चयन भने सञ्चालक समितिको प्रस्तावमा साधारण सभाले गर्नेछ। यसरी निर्वाचित ५ र मनोनीत १ गरी कुल ६ सदस्यीय सञ्चालक समिति बन्नेछ। कम्पनी ऐनले स्पष्ट रूपमा जोड संख्यामा सञ्चालक समिति गठनको परिकल्पना नगरेको सन्दर्भमा यो निर्णय थप विवादित बनेको छ। सामान्यतया, सञ्चालक समितिमा कुनै विषयमा मत बाझिएमा स्पष्ट बहुमतका आधारमा निर्णय गर्न सहज होस् भनेर विषम संख्यामा सदस्य राख्ने अभ्यास छ।
एशियन लाइफ इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत शेयर स्वामित्व छ। यो अनुपातका हिसाबले कम्पनीले संस्थापक र सर्वसाधारण दुवैको तर्फबाट ३-३ जना र एकजना स्वतन्त्र सञ्चालक सहित कुल ७ सदस्यीय सञ्चालक समिति चयन गरिनुपर्छ। तर, कम्पनीले सोमबार दिउँसो वेबसाइटमा प्रकाशन गरेको निर्वाचन सम्बन्धी सूचनामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना गरी जम्मा ५ जनाको मात्र निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिने उल्लेख छ। यसले गर्दा सर्वसाधारण शेयरधनीलाई उचित प्रतिनिधित्वबाट वञ्चित गराइएको छ। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई शेयर स्वामित्वको अनुपातमा सञ्चालक समितिमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउन निर्देशन दिएको भए तापनि एशियन लाइफले यस निर्देशनको समेत अवज्ञा गरेको देखिन्छ।
कम्पनीले शेयरधनी (मतदाता) नामावलीका लागि १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने प्रावधान राखेको छ। साधारण शेयरधनीले यो शुल्क अस्वभाविक र महँगो भएको भन्दै गुनासो गरेका छन्। उम्मेदवारीका लागि असार २५ गते दिउँसो १ बजेसम्ममा मनोनयन गर्नुपर्ने तालिका रहेको छ।
एशियन लाइफ इन्स्योरेन्सको २०७८ साउन ३१ गते सम्पन्न साधारण सभाले ४ वर्षे कार्यकालका लागि निर्वाचन गरेको पदाधिकारीको कार्यकाल समाप्त हुन लागेकाले आगामी ४ वर्षका लागि पुनः सञ्चालक समितिको निर्वाचन हुन लागेको हो। कम्पनीको यो कदमले नियामक निकायहरूको ध्यान तान्न सक्ने र यसले थप कानुनी जटिलता निम्त्याउन सक्ने देखिन्छ।



