एक खर्ब बढी लागतमा जीएमआरले थाल्यो माथिल्लो कर्णालीको काम
भारतको जीएमआर इनर्जी लिमिटेडले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको तीनवटा प्याकेजमा प्रारम्भिक काम थालेको छ। यसमा आयोजनाको हेडवर्क्स र पहुँचमार्ग निर्माणको काम अगाडि बढाइएको छ।
आयोजनाका प्रमुख कुलमित कुल्तार शर्माका अनुसार, विकासकर्ता जीएमआरले २.४ किलोमिटर लामो एक्सेस रोड टनेल, बाँध नजिकको स्टिल ब्रिज र आयोजनाको पहुँच मार्ग निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको छ। जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले यी तीनवटा पूर्वाधार निर्माणका लागि आशयपत्र माग गरेको छ।
जीएमआरले गत माघ २ गते लगानी बोर्डमा वित्तीय व्यवस्थापनको प्रस्ताव पेस गरेको थियो। माघ ४ गते आयोजनाको अन्तिम अनुमति अवधि सकिनुअघि नै यो प्रस्ताव पेस भएको हो। लगानी बोर्डको ६०औं बैठकले गत मंसिरको पहिलो साता जीएमआरले पेस गरेको नयाँ लगानी संरचना परिवर्तन गर्ने प्रस्तावलाई स्वीकृति दिएको थियो।
आयोजनामा नेपाली बैंकहरूले पनि लगानी गर्दैछन्। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अगुवाइमा नेपालका बैंकहरूले ४२ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने भएका छन्। यसमा एभरेस्ट बैंक, लक्ष्मी सन्राइज बैंक र एनएमबी बैंकको लगानी निश्चित भइसकेको छ।
त्यस्तै, भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी लिमिटेड (इरेडा) ले ६५ अर्ब भारु (अर्थात् एक खर्ब चार अर्ब रुपैयाँ) लगानी गर्ने भएको छ। जीएमआरले लगानी बोर्डलाई आयोजना निर्माणका लागि कुल एक खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ लाग्ने जानकारी गराएको छ।
आयोजनाको लगानी संरचनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) हुनेछ। जीएमआर, नौ सय मेगावाटको अरुण तेस्रो आयोजना निर्माण गरिरहेको एसजेभीएन लिमिटेड र इरेडाले ३० प्रतिशत स्वपुँजी लगानी गर्ने सम्झौता गरेका छन्। यदि इरेडाबाट ऋण लगानी नआएमा विकल्पका रूपमा जीएमआरले पावर फाइनान्स कर्पोरेसन इन्डियाबाट ६५ अर्ब भारु ऋण लगानी गर्ने आशयपत्र बोर्डमा पेस गरिसकेको छ।
यो आयोजना जीएमआर इनर्जीका साथै जीएमआर पावर एन्ड अर्बान इन्फ्रा लिमिटेड, जीएमआर जीएमआर लायन इनर्जी लिमिटेड, एसजेभीएन, नेपाल विद्युत् प्राधिकरण र जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडसँगको संयुक्त उपक्रममा पेस भएको छ।
आयोजनामा जीएमआर र एसजेभीएनको बराबर (३४-३४ प्रतिशत), नेपाल विद्युत प्राधिकरणको २७ प्रतिशत र इरेडाको ५ प्रतिशत स्वामित्व रहनेछ। आयोजना निर्माणका लागि जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेड स्थापना भइसकेको छ।
जीएमआरले सन् २००८ मा प्रतिस्पर्धाबाट माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्राप्त गरेको थियो। जीएमआरले नेपाललाई १२ प्रतिशत निःशुल्क बिजुली र २७ प्रतिशत निःशुल्क सेयर दिने प्रस्ताव गरेपछि यो आयोजना जीएमआरले पाएको हो। सन् २०१४ मा भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार, जीएमआरले नेपाललाई १०८ मेगावाट बिजुली निःशुल्क दिनुपर्नेछ। २०७१ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका बेला जीएमआर र लगानी बोर्ड नेपालबीच पीडीएमा हस्ताक्षर भएको थियो। त्यतिबेला जीएमआरले दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थियो।
अर्धजलाशय (पीआरओआर) प्रकृतिको यस आयोजनाबाट वार्षिक तीन अर्ब ४६ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। जीएमआरको योजना अनुसार, आयोजनाबाट उत्पादन हुने बिजुली ४०० केभी क्षमताको १०० किलोमिटर लामो प्रसारणलाइन बनाएर भारतको उत्तरप्रदेशस्थित बरेलीमा जोडिनेछ। आयोजनाको सुरुङको लम्बाइ तीन किलोमिटर मात्र छ। जीएमआरले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले आयोजनाको बढी ऊर्जा उत्पादन क्षमताका कारण आर्थिकरूपमा आकर्षक रहेको देखाएको छ।
सुरुमा जीएमआरले बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग ५०० मेगावाट बिजुली बंगलादेशलाई बेच्न समझदारी (एमओयू) गरेको थियो। तर, पछिल्लो समय भारत र बंगलादेशबीच कूटनीतिक सम्बन्धमा दरार आएपछि बोर्डले एमओयू रद्ध गरिसकेको छ। अब जीएमआरले भारतमै बिजुली बेच्ने भएको छ।
गत भदौमा जीएमआर इनर्जी, सतलज जलविद्युत निगम लिमिटेड (एसजेभीएन) र इरेडाबीच आयोजना निर्माणका लागि लगानी सम्झौता भएको थियो। माघ २ गते नै जीएमआरले सतलज र इरेडा साझेदार भएको र आयोजना बनाउन एक खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ लाग्ने लगानी बोर्डलाई जानकारी गराएको थियो। यो आयोजना अछाम, दैलेख र सुर्खेत भएर बग्ने कर्णाली नदीमा प्रस्ताव गरिएको छ।



