चीनको ईभी बजारमा मूल्य युद्ध चर्किंदै
चीनका प्रमुख विद्युतीय सवारी (ईभी) निर्माताबीचको प्रतिस्पर्धा झन् तीव्र बन्दै गएको छ। लामो समयदेखि जारी बीवाईडी र ग्रेट वाल मोटरबीचको उत्सर्जन मापदण्ड सम्बन्धी विवाद फेरि चर्किएको छ भने, जीलीले पनि बीवाईडीको मूल्य घटाउने रणनीतिलाई सार्वजनिक रूपमा आलोचना गरेको छ।
सन् २०२३ मा ग्रेट वाल मोटरले बीवाईडीका दुई लोकप्रिय हाइब्रिड मोडेल उत्सर्जन मापदण्ड नपुगेको आरोप लगाउँदै चिनियाँ नियामक निकायमा उजुरी दिएको थियो। ग्रेट वालका अध्यक्ष वेइ जियानजुनले हालै पुनः उक्त मुद्दा उठाउँदै मूल्य युद्धको कारण चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार नियामक अनुसन्धान अझै चलिरहेको छ।
बीवाईडीले वेइको टिप्पणीलाई ‘आतङ्क सिर्जना गर्ने’ भन्दै खारेज गरे पनि उत्सर्जनसम्बन्धी आरोपबारे प्रत्यक्ष प्रतिक्रिया दिएको छैन। बीवाईडीले अघिल्लो वर्ष आफ्ना सवारी साधनहरू सबै नियामक मापदण्डअनुसार रहेको दाबी गरेको थियो।
यो विवादमा शनिबार जीली कम्पनी पनि खुलेर अघि आएको छ। उपाध्यक्ष भिक्टर याङले चोङ्गकिङ अटो सम्मेलनमा ग्रेट वालको पक्षमा बोलेका थिए। उनले ग्रेट वालको जस्तै निष्कर्ष आफूहरूले पनि परीक्षणमार्फत निकालेको दाबी गरे।
विवादको केन्द्रमा बीवाईडीका क्विन प्लस र सङ प्लस प्लग-इन हाइब्रिडमा प्रयोग भएका गैर-दबावयुक्त इन्धन ट्याङ्कीहरू छन्। ग्रेट वालका अनुसार यस्ता ट्याङ्कीहरूबाट इन्धन छिटो वाष्पीकरण हुने खतरा रहन्छ। बीवाईडीका जनसम्पर्क महाप्रबन्धक ली युनफेइले ती ट्याङ्कीहरू २०२१–२०२३ को नियामक मापदण्डअनुसार भएको तर ग्राहक गुनासोपछि फेरिएको प्रतिक्रिया दिएका छन्।
उद्योगमा विवाद बढिरहेका बेला बीवाईडीले हालै आफ्नो सस्तो मोडेलको मूल्य ५५ हजार ८०० युआन (करिब ७,७७० अमेरिकी डलर) मा झारेपछि अटो बजारमा थप मूल्य युद्ध शुरु भएको छ। यसले समग्र बजारको सेयर मूल्यमा गिरावट ल्याएको छ।
चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालय (MIIT) ले स्थिति नियन्त्रणमा लिन गत साता प्रमुख कार निर्माता कम्पनीहरूसँग बैठक बोलाएको छ। डिलरहरू पनि सन्तुलनका लागि अति उत्पादन नगर्न आग्रह गर्दै आएका छन्।



