कोरियाबाट प्राप्त महँगा डिभाइस ३ वर्षपछि बल्ल प्रयोगमा
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले दक्षिण कोरियाली सरकारबाट प्राप्त दृष्टि विहीन व्यक्तिहरूका लागि बनाइएको आधुनिक डिभाइस तीन वर्षदेखि थन्क्याएर राखेको पाइएको छ । नास्टले तालिम दिने विज्ञ व्यक्ति नपाउँदा दृष्टि विहीन व्यक्तिहरूका लागि बनाइएको आधुनिक डिभाइस तीन वर्षदेखि थन्क्याएर राखेको हो ।
लाखौँ रुपैयाँ पर्ने आधा दर्जन बढी त्यस्ता डिभाइस नास्टले आइतबारदेखि मात्रै प्रयोगमा ल्याएको छ ।
नास्टका अनुसार, कोरिया सरकारको नेसनल इन्फर्मेसन सोसाइटी एजेन्सी (एनआईए)को सहयोगमा तयार पारिएको इन्फर्मेसन एक्सेस सेन्टर (आईएसी) का लागि कोरिया सरकारले सन् २०२१ मा नै त्यस्ता डिभाइस उपलब्ध गराएको थियो । जसमा इलेक्ट्रोनिक्स टेक्स्ट टु ब्रेल– ब्रेल टु इलेक्ट्रोनिक्स टेक्स्ट रूपान्तरण गर्ने ट्याब्लेट, म्याग्निफायर, बुक रिडर, ओसीआर मसिन लगायतका डिभाइस रहेका छन् ।
यी डिभाइसहरूले दृष्टि विहीन व्यक्तिहरूलाई दैनिक जीवनमा निकै सहयोग गर्छन् । तर तालिम दिने विज्ञ मान्छे नभेटिँदा तीन वर्षसम्म डिभाइसहरू थन्किएको थियो ।



