४१ करोड रुपैयाँ मूल्य बराबरका नेपाली सम्पदा फिर्ता गर्दै अमेरिका
४१ करोड रुपैयाँ मूल्यबराबरका २० वटा पुरातात्विक सम्पदा अमेरिकाले नेपाललाई फिर्ता गर्ने घोषणा गरेको छ ।
न्युयोर्कस्थित म्यानहटन डिस्ट्रिक एटोर्निज् अफिस (जिल्ला न्यायधिवक्ताको कार्यालय) ले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न समयमा नेपालबाट तस्करी गरी अमेरिका ल्याइएका ३० लाख अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ४१ करोड १० लाख मूल्य बराबरका २० वटा पुरातात्विक सम्पदा फिर्ता गर्ने जनाएको हो । विज्ञप्तिमा फिर्ता गरिने मिति भने उल्लेख गरिएको छैन ।
१५ औं शताब्दीका सैन्य गभर्नर गगनसिंह भारो र उनकी पत्नीहरूको चित्र, बुङ्मतीको एक स्तूपबाट चोरी भएको बुद्धको मूर्ति, ढुङ्गाको देवीको मूर्तिलगायत २० वटा पुरातात्विक सम्पदा फिर्ता गर्ने विज्ञप्तिमा उल्लेख छ । ती सम्पदामध्ये गगनसिंह भारो र उनकी पत्नीहरूको चित्र स्मारकीय रंगद्रव्य र सुनको कपासको पौभा नेपालका नेवारहरूले बनाएको परम्परागत धार्मिक चित्र भएको अनुसन्धानबाट पुष्टि भएको जनाइएको छ । शिलालेखअनुसार चित्र लगभग सन् १४५० देखि १४७४ बीचको रहेको अनुमान गरिएको छ । यो चित्र सन् १९८० मा काठमाडौंको इटुम्बहास् गुम्बाबाट चोरी भएको अनुसन्धानबाट खुलेको छ । सन् १९८२ मा यो न्युयोर्क काउन्टीमा रहेका पुराना वस्तुहरूको व्यापार गर्ने व्यक्तिको साथबाट भेटिएको हो ।
‘काठमाडौंस्थित बुङ्मतीको स्तूपबाट चोरी भएको बुद्धको मूर्ति नवौं शताब्दीको भएको बुझिएको छ । यसमा शाक्यमुनि बुद्धको चित्रण गरिएको छ । यो मूर्ति सन् १९७० को दशकको अन्त्यतिर नेपालको बुङ्मतीको स्तूपबाट चोरी भएको र त्यसपछि १९८० को दशकमा लन्डनका एक व्यापारीबाट फेला पारिएको थियो,’ विज्ञप्तिमा भनिएको छ । ढुङ्गाको देवीको मूर्ति भने पहिलो पटक सन् १९७५ मा अस्ट्रियाली वास्तुकार कार्ल प्रुस्चाले खिचेको तस्बिरमा काठमाडौंको विष्णुदेवी मन्दिर परिसरको एउटा कोठामा देखा परेको र त्यसपछि सन् १९८४ मा स्विट्जरल्याण्डबाट न्युयोर्क काउन्टीमा आइपुगेको थियो । मूर्ति न्युयोर्कस्थित कलेक्टर रोबर्ट ह्याटफिल्ड एल्सवर्थले किनेका र यसैवर्ष २०२५ मा डिस्ट्रिक्ट एटोर्नीको पुरातात्विक वस्तुहरूको बेचबिखन एकाइले लिएको हो ।



