इजरायल–इरान युद्धविराम पूर्णरूपमा कार्यान्वयनमा
इजराल र इरानबीचको युद्धविराम पूर्णरूपमा कार्यान्वयनमा आएको छ । मङ्गलवार बिहानदेखि लागू भएको युद्धविराम दुवै पक्षले कार्यान्वयन गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अप्रत्याशित रूपमा शुरू भएको इरान–इजरायल युद्ध १२ दिनपछि अप्रत्याशित रूपमै टुङ्गिएको हो ।
युद्धको १०औं दिनमा इरानी परमाणु भट्टीमा आक्रमण गर्दै अमेरिका पनि युद्धमा सहभागी भएको थियो । इरानले अमेरिकी आक्रमणको भोलिपल्ट कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण गर्याे । इरानको जवाफी आक्रमणपछि अब युद्ध तीव्र रूपमा फैलने र कतिपयले तेस्रो विश्वयुद्धको शुरुआत भन्दै गर्दा युद्ध नाटकीय रूपमा रोकियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यराति सामाजिक सञ्जालमा लेख्दै युद्धविराम घाेषणा गरेको केही घण्टापछि दुवै देशले युद्धविराम स्वीकार गरे ।



