अमेरिकी प्रभावमा एफपीआइको भारतीय बजारप्रति विश्वास घट्दै

अमेरिकी प्रभावमा एफपीआइको भारतीय बजारप्रति विश्वास घट्दै

भारतीय सेयर बजारमा मे महिनामा भारी लगानी गरे पनि विदेशी लगानीकर्ताले (एफपीआइ) जुनको पहिलो सातामै ८ हजार ७४९ करोड भारु फिर्ता लगाएका छन् । अमेरिकाको बन्ड प्रतिफल वृद्धि र अमेरिका–चीनबीचको व्यापार तनाव पुनः चर्किएसँगै लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ मोडिएको विश्लेषकहरूको भनाइ छ ।

डिपोजिटरीमा उपलब्ध तथ्यांकअनुसार विदेशी लगानीकर्ताले मे महिनामा १९ हजार ८६० करोड भारु र अप्रिलमा ४ हजार २२३ करोड भारु भारतीय सेयर बजारमा लगानी गरेका थिए । तर जुन महिनाको पहिलो सातामै तिनीहरूले उल्लेख्य रकम फिर्ता लगेका छन् ।

यसअघि एफपीआइहरूले मार्चमा ३ हजार ९७३ करोड, फेब्रुअरीमा ३४ हजार ५७४ करोड र जनवरीमा ७८ हजार २७ करोड भारु बजारबाट फिर्ता लगाइसकेका थिए । यससँगै सन् २०२५ मा हालसम्मको कुल निकासी १.०१ ट्रिलियन भारु पुगेको छ ।

मोर्निङस्टार इन्भेष्टमेन्टका एसोसिएट डाइरेक्टर हिमांशु श्रीवास्तवका अनुसार, “अमेरिका–चीन व्यापार तनाव बलियो हुँदै गएको र अमेरिकी बन्ड प्रतिफल उच्च हुनुले एफपीआइको मनोवृत्तिमा नकारात्मक असर पारेको हो ।” त्यसैगरी, अडानी समूहले इरानसँग व्यापार गरी अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको आशंकामा अमेरिकी निकायले अनुसन्धान थालेपछि लगानीकर्ताको विश्वासमा थप आघात पुगेको बताइएको छ ।

यद्यपि, भारतीय रिजर्भ बैंक (आरबीआई) को पछिल्लो मौद्रिक नीति निर्णयले बजारमा केही सकारात्मक संकेत देखाएको छ । आरबीआईले ५० बेसिक प्वाइन्टले रेपो दर घटाउनुका साथै नगद आरक्षित अनुपात (CRR) १०० बेसिक प्वाइन्टले घटाएको छ । यसले बजारमा तरलता बढ्ने अपेक्षा गरिएको छ ।