कम्पनीहरुको चुक्ता पुँजी वृद्धि समय थप गर्ने तयारीमा बोर्ड

कम्पनीहरुको चुक्ता पुँजी वृद्धि समय थप गर्ने तयारीमा बोर्ड

कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गर्ने तयारीमा धितोपत्र बोर्ड रहेको छ । समय थप गर्नको लागि नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनको लागि अर्थ मन्त्रालय पठाएको छ । २०८२ सालको चैत मसान्तसम्म समय थप गर्ने गरेर नियमावली संशोधनको लागि अर्थमन्त्रालय पठाएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ ।

‘धितोपत्र दलाल र धितोपत्र व्यापारीले अनुसूची–९ बमोजिमको न्यूनतम चुक्ता पुँजी राख्नुपर्नेछ । तर यो नियम प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले २०८२ साल असार मसान्तभित्र अनुसूची–९ बमोजिमको न्यूनतम चुक्ता पुँजी पुर्याउन बाधा पर्ने छैन’ नियमावलीमा उल्लेख छ । तथापि, उक्त समय ९ महिना थप गरेर चैत मसान्तसम्म समय थप गर्ने तयारी धितोपत्र बोर्डको रहेको छ ।

धितोपत्र बोर्डले २०७९ भदौमा नयाँ ब्रोकर कम्पनीहरुको लागि लाइसेन्स खुला गर्दै सञ्चालनमा रहेका ५० ब्रोकरलाई ३ वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । अहिलेको व्यवस्थाअनुसार २०८२ को असार मसान्तसम्म ब्रोकर कम्पनीहरुले २० करोड चुक्ता पुँजी कायम गर्नुपर्ने हुन्छ ।