सेयरमा म्युचुअल फन्डहरुले बढाए २ अर्ब ४६ करोड लगानी

सेयरमा म्युचुअल फन्डहरुले बढाए २ अर्ब ४६ करोड लगानी

यर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । जेठ मसान्तसम्म खुलामुखी र बन्दमुखी योजनामार्फत सेयर बजारमा कुल लगानी रकम ४८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

दुई महिनामै बजारमा उनीहरूको लगानी रकम २ अर्ब ४६ करोड रुपैयाँ बढेको छ । चैत मसान्तसम्म फन्डले कुल ४५ अर्ब ९१ करोड रुपैयाँ बजारमा लगानी गरेका थिए ।

म्युचुअल फन्डले आफ्नो लगानीको विवरण हरेक महिना सार्वजनिक गर्दै आएका छन् । जेठ मसान्तसम्म फन्डले ४ अर्ब ९३ करोड मुद्दती निक्षेपमा लगानी गरेका छन् भने १० अर्ब ४२ करोड रुपैयाँ नगदमा छन् । फन्डले बढीमा १५ प्रतिशतसम्म मात्रै मुद्दती निक्षेपमा लगानी गर्न पाउँछन् ।

फन्डहरूको कुल सम्पत्तिमा सेयर बजारमा भएको लगानी रकम ७२ प्रतिशत हो । जेठ मसान्तसम्म म्युचुअल फन्डको कुल कोषको आकार ६३ अर्ब ७२ करोड रुपैयाँ बराबर पुगेको छ । चैत मसान्तसम्मको तुलनामा कुल कोषको आकार ६.७५ प्रतिशत बढेको छ । चैत मसान्तसम्म कुल कोष आकार ५९ अर्ब ६९ करोड रुपैयाँ थियो ।

म्युचुअल फन्डको रोजाइमा रहेका कम्पनी आम लगानीकर्ताले सहजै हेर्न पाउँछन् । विशेषज्ञ टिममार्फत म्युचुअल फन्ड व्यवस्थापक कम्पनी (मर्चेन्ट बैंक)ले सेयर लगानीका लागि उपयुक्त कम्पनी छनोट गर्ने भएकाले त्यस्ता कम्पनी सर्वसाधारणका लागि पनि उपयुक्त हुन सक्छन् ।

कतिपय लगानीकर्ताले म्युचुअल फन्डले छनोट गरेका कम्पनीलाई नै आफ्नो लगानीका लागि रणनीति तयार गर्छन् । तर म्युचुअल फन्डले गरेको लगानी सधैं उहीं कम्पनीमा सीमित नरहन सक्छ ।तर म्युचुअल फ न्डको प्रतिसेयर खरिद मूल्यभन्दा तल आएका बेला खरिद गर्ने हो भने उपयुक्त रणनीति बन्न सक्ने लगानीकर्ता बताउँछन् ।