युद्धविरामको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट
मध्यपूर्वमा इरान र इजरायलबीच युद्धविराम हुने संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकै दिन ८ डलरले घटेको छ। यो द्वन्द्व सुरु भएपछि निरन्तर उकालो लागेर प्रतिब्यारेल ७९ डलरसम्म पुगेको कच्चा तेलको मूल्य मंगलबार राति घटेर ६६.५२ देखि ७० डलरको हाराहारीमा कारोबार भएको आयलप्राइस डटकमले जनाएको छ।
अमेरिकाले इरानमाथि आक्रमण गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ८० डलर नजिक पुगेको थियो। तर, अहिले युद्धविरामको संकेत देखिएसँगै आपूर्ति प्रणालीमा सुधार हुने विश्वास बढेकाले मूल्य घटेको बताइएको छ। यद्यपि, मध्यपूर्वमा युद्धको त्रास भने कायमै छ।
मंगलबारको कारोबारमा डब्ल्यूटीआई क्रुडको भाउ घटेर ६६.५२ डलरमा सीमित भएको छ। यस्तै, ब्रेन्ट क्रुड प्रतिब्यारेल ६९.५२ डलर र मुरबान क्रुडको कच्चा तेल ७०.२४ डलरमा कारोबार भएको छ।
इरान विश्वको ठूलो तेल उत्पादक मुलुक हो। इरान र इजरायलबीचको द्वन्द्वले इरानबाट तेल आपूर्तिमा बाधा पुग्ने चिन्ताले व्यापारीहरूमाझ डर बढाएको थियो। गत जेठ २९ गते अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरको हाराहारीमा थियो। जबकि, गत चैतको अन्तिम साता यो मूल्य घटेर प्रतिब्यारेल ५६.९६ डलरमा कारोबार भएको थियो।
पछिल्लो समय ६० डलरको आसपासमा रहेको कच्चा तेलको मूल्य मध्यपूर्वमा सुरु भएको युद्धसँगै बढ्दै गएको थियो। यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकसँग अघोषित व्यापार युद्ध सुरु गर्दै भन्सार दर बढाएपछि कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको थियो। ट्रम्पले चीन लगायतका कतिपय मुलुकसँग लगाएको थप भन्सारदरबाट पछि हट्दा पनि कच्चा तेलको बजारमा असर परेको थियो। अहिले भने युद्धले यसको बजारमा ठूलो प्रभाव पारेको छ।



