पुस १४, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । विभाजित नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपाल पक्षीय मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षीय मन्त्री बोहरालाई मंगलवार बर्खास्त गरेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्री बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । नेकपा विभाजनपछि प्रचण्ड–माधव समूहका केही नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मन्त्री बोहरालाई हटाउन मुख्यमन्त्रीलाई दबाब दिँदै आएका थिए ।
मन्त्री बोहराको ठाउँमा कसलाई नियुक्त गर्ने भन्नेबारे छलफल भइरहेको नेकपा (प्रचण्ड–नेपाल समूह) का एक नेताले बताए । सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री बोहरा २०७४ फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए ।