बैंक तथा वित्तीय संस्थाले चैत एक गतेदेखि लागू हुनेगरी कर्जा र निक्षेपको औसत ब्याजदर अन्तर (स्प्रेड दर) निक्षेपको ब्याजदर घटाउन तयारी थालेका छन् । ब्याजदरको विषयमा छलफल गर्न आज बैंकर संघको पूर्ण बैठक बस्दैछ ।
बैंठकले पारित गरेर नयाँ दर कायम गरिने एक बैंकर्सले बताए । जसका लागि नयाँ नेतृत्व आएपछि पहिलो पटक पूर्ण बैठक डाकिएको हो ।
बैंकहरुले माघमा निक्षेपको ब्याजदर घटाएका थिए । बैंकरहरुले माघमा १२.१३३ प्रतिशत रहेको निक्षेपको ब्याजदर ११ प्रतिशत मा झारेका थिए । चैतमा पनि निक्षेपको ब्याजदर घटेपछि आधार दर समायोजन गर्दा बैशाखमा बैंकहरुको बेस रेट घट्ने छ ।
निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ । तसर्थ बैंकहरुको आधार दर (बेस रेट) कम हुन्छ । बैंकहरुले बेस रेटमा केहि प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरेका छन् । बेस रेट कम हुने बित्तिकै ऋणको ब्याज दर घट्छ ।
राष्ट्र बैंकको ब्यवस्था अनुसार, साधारण मुद्दतीको ब्याजभन्दा संस्थागत मुद्दतीकर्ताको ब्याज दर २ प्रतिशत विन्दुले कम हुनु पर्छ। अहिले साधारण मुद्दतीको ब्याज ११ प्रतिशत छ । जसअनुसार अहिले संस्थागत मुद्दतीकर्ताको ब्याज ९ प्रतिशत कायम छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत २०८० असार मसान्तभित्र बैंकले कर्जामा लिने र निक्षेपमा दिने ब्याजको अन्तर (स्प्रेड दर) ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार २०८९ चैत मसान्तमा ४.२ प्रतिशत र २०८० असार मसन्तभित्र स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । तोकिएको दरमा स्प्रेड दर कायम गर्न पनि बैंकहरुलाई आधार दर घटाउनुपर्ने दबाब छ ।