पछिल्लो समयमा बीमाको दायरासँगै बीमा व्यवसायमा पनि बढोत्तरी आउन थालेको छ । हाल देशमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठमसान्तसम्म झन्डै २ खर्ब बराबरको बीमा व्यवसाय गरेका छन् । यसअवधिमा करिब ४८ प्रतिशत जनसंख्या बीमाको दायरामा समेटिएका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमध्ये जीवन बीमा कम्पनीहरुले १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । गत वर्षको यसै अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १६ प्रतिशत तथा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ९.६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको जेठसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ५६ करोड ९१ लाख बीमाशुल्क संकलन गरेका थिए ।
हाल संचालनमा रहेका बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठमसान्तसम्म कुल १ खर्ब ९५ अर्ब ४ करोड १६ लाख बढी बीमाशुल्क आर्जन गरेका छन् । यो सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बीमाशुल्क संकलन १४.५१ प्रतिशतले बढेको हो । बीमा कम्पनीहरुको गत आवको जेठसम्म १ खर्ब ७० अर्ब ३२ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
बीमा कम्पनीहरुले आफ्नो व्यवसाय तथा पहुँच विस्तारका लागि शाखा संजालसँगै कर्मचारी बढाउँदै लगेको अनुपातमा बीमाको पहुँच विस्तारमा भने सामान्य सुधार देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको गत जेठ मसान्तसम्मको बीमा क्षेत्रको विवरणमा पछिल्लो १ वर्षमा बीमा कम्पनीहरुको कार्यालय संख्या १.१८ प्रतिशत तथा कर्मचारी संख्या ४.८० प्रतिशतले बढेको छ ।
गत जेठसम्म जीवन बीमा कम्पनीहरुले ३५ अर्ब १७ करोड ५१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् भने बीमा लेख नवीकरणबाट १ खर्ब १९ अर्ब ९८ करोड २४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । गत आवको जेठको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २६.९८ प्रतिशत तथा नवीकरण शुल्क १३.१३ प्रतिशतले बढेको हो ।
बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१-८२ को जेठ महिनासम्मको तथ्यांक अनुसार बीमाको दायरामा आएको कुल जनसंख्या ४७.९५ प्रतिशत छ । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो । गत आवको सोही अवधिमा भने ४३.९५ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको देखिन्छ ।
गत जेठसम्म कुल सक्रिय जीवन बीमालेखको संख्या भने १ करोड ५४ लाख ९८ हजार ७०१ वटा छन् । यस्तै कुल सक्रिय निर्जीवन बिमालेखको संख्या २९ लाख २६ हजार ५२९ रहेको छ । समीक्षा अवधिमा सक्रिय जीवन बीमालेखको संख्या १० प्रतिशत तथा कुल निर्जीवन बीमालेखको संख्या ७.८७ प्रतिशतले बढेको छ । तर यस अवधिमा कुल जारी भएका जीवनबीमालेखको संख्या ३.१ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमा बाहेक गत जेठसम्म १६.९८ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा आएको देखिन्छ । अघिल्लो वर्षको जेठसम्म १७.६४ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका थिए। म्यादी, लघुम्यादी बिमालेखसहित भने गत जेठसम्म ३९.७५ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको देखिन्छ ।