चालु आर्थिक वर्ष २०८२/८२ मा वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभएमा वा बाँकी अवधिमा खर्च हुन नसक्ने भए रकम फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमार्फत यो व्यवस्था गरेको हो ।
“वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभएमा वा बाँकी अवधिमा खर्च हुन नसक्ने भएमा त्यस्तो रकम २०८२ चैत १५ गतेभित्र अनिवार्य रूपमा समर्पण गर्नु हुनेछ,” मापदण्डको बुँदा नम्बर ४ मा उल्लेख छ ।
आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेट तथा कार्यक्रममा कुनै आयोजना/कार्यक्रम/क्रियाकलापको नाम वा उद्देश्य एउटै भई मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस)मा दोहोरिए एउटा मात्र कार्यान्वयन हुने उल्लेख छ । कुनै एउटा मात्र आयोजना, कार्यक्रम वा क्रियाकलाप कार्यान्वयनका लागि छनौट गरी दोहोरिएका अन्य आयोजना/कार्यक्रम/क्रियाकलाप रोक्का राखी अर्थ मन्त्रालयमा बजेट समर्पण गर्नुपर्नेछ ।