संघीय सञ्चित कोषको घाटा २० अर्बले घटेको छ । अघिल्लो वर्ष संघीय सरकारको ढुकुटी (सञ्चित कोष) घटामा भएकोमा गएको आर्थिक वर्षमा भने केही सुधार देखिएको हो ।
अर्थ मन्त्रालय तथा राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको २ खर्ब २४ अर्बको सञ्चित कोष नोक्सानीबाट २० अर्ब घटेको छ। खर्चअनुसारको आम्दानीको स्रोत व्यवस्थापनमा सकस कायमै भए पनि गत वर्ष गैरकर राजस्वमा सुधार देखिँदा कोष नोक्सानीको खाडल सीमान्त सुधार भएको छ। यद्यपि कोषमा घाटा भने कायमै रहेको छ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार पछिल्ला ७ वर्षदखि सञ्चित कोष सकारात्मक हुन सकेको छैन। तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा संघीय सञ्चित कोष २ खर्ब ३१ अर्बले घाटामा गएको थियो। त्यसपछि घाटा न्यूनीकरण हुँदै आएर २०७८/७९ वर्ष ५३ अर्बमा सीमित भए पनि २०७९/८० मा फेरि बढेर १ खर्ब ९१ अर्ब पुगेको थियो।
२०८०/८१ मा घाटा विस्तार भएर २ खर्ब २८ अर्ब पुगेको थियो। २०८१/८२ मा फेरि त्यो घाटा ओरालो लागेको छ। सरकारले उठाएको राजस्व, अनुदान र ऋण जोडेर पनि खर्च धेरै भएमा धेरै भएको खर्च यस्तो घाटामा गणना हुन्छ। यसरी भएको घाटा प्रत्येक वर्ष थपिँदै जान्छ। जुन वर्ष खर्चभन्दा आम्दानी धेरै हुन्छ कोषको घाटा पनि घट्दै जान्छ।
सरकारले गएको आर्थिक वर्षमा कुल १५ खर्ब २३ अर्ब खर्च गरेको छ। यसमा राजस्व, अनुदान तथा अन्य आम्दानीबाट करिब ११ खर्ब जोहो गरेको थियो। यसमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण तथा १ खर्ब १० जति अर्ब विदेशी ऋण लिएको छ। यो सबै जोड्दा कोषको घटा कम्तीमा २० अर्बले न्यूनीकरण भएको अर्थ मन्त्रालयको प्रारम्भिक अनुमान छ।