Banijya News

‘गत आवमा निर्माण कम्पनीलाई आठ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी’

4 Shares

सरकारले गएको आर्थिक वर्षमा निर्माण कम्पनीहरूलाई ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले गएको आर्थिक वर्षमा निर्माण कम्पनीहरूलाई सो रकम भुक्तानी गरेको बताएका हुन् ।

सिंहदरबारमा आज बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले यो जानकारी गराएका हुन् । उनले गएको आर्थिक वर्षमा ८ अर्ब ६६ करोड रुपैयाँ अघिल्लो वर्षको भुक्तानी गरेको बताए । उनले गएको आर्थिक वर्षमा केही कागजातहरू नपुगेका निर्माण कम्पनीहरूलाई भने भुक्तानी नगरिएको र साउनभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता जनाए।

यस्तै बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताए । उनले संविधान र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरू लागिरहेको उल्लेख गरे ।

रणनीतिक सडक सञ्जालमा भएका पुलहरुको ५६ करोड रुपैयाँ भुक्तानी भने गर्न नसकेको मन्त्री दाहालले स्वीकार गरे । उनले कन्काई पुल समयमा बन्न नसक्ने स्थिति रहेको भए तत्काल ठेक्का तोडेर नयाँ ठेक्काका लागि प्रक्रिया अघि बढाइने बताए । अधुरा परियोजना सम्पन्न गर्न पर्याप्त रकम नभएको उनको गुनासो छ ।

Scroll to Top