साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.४५ प्रतिशत अर्थात ४१.७८ अंकले घटेर २ हजार ८३३.५७ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले घटेर ४८८.३९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । यो दिन लघुवित्त र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः०.४४ र ०.१७ प्रतिशतले बढे ।
आज अन्य समूह सर्वाधिक अर्थात २.७६ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.०८ प्रतिशत, विकास बैंक २.४६, फाइनान्स १.८५, होटल ०.९९,हाईड्रो १.६४, लगानी १.७१, जीवन बीमा १.४२, उत्पादन तथा प्रशोधन १.६३ निर्जीवन बीमा १.२० र व्यापार समूह १.८५ प्रतिशतले घट्यो ।
यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३९ करोड २८ लाख बढीको कारोबार भयो ।
यस्तै ट्रेड टावरको पनि आज ३७ करोड,शिवम् सिमेन्टको ३३ करोड २८ लाख, बुटवल पावर कम्पनीको ३० करोड ५८ लाख र ङादी ग्रुप पावरको २४ करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज अपर सर्किट लाग्ने कम्पनीहरुमा समाज लघुवित्त र उन्नती सहकार्य लघुवित्त मात्रै रहे ।
विन नेपाल लघुवित्तको सेयरमूल्य पनि आज ४.६४ प्रतिशत र श्रृजनशिल लघुवित्तको सेयरमूल्य ४.२२ प्रतिशतले बढ्यो ।
थ्रीस्टार हाईड्रोको सेयरमूल्य आज लोवर सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । ट्रेड टावरको सेयरमूल्य पनि आज ७.३५ प्रतिशत,लुम्बिनी विकास बैंकको ५.४० र अपर सोलु हाईड्रोको सेयरमूल्य ४.८० प्रतिशतले घट्यो ।