Banijya News

झन्डै ७० लाख जनाले गर्छन् सेयर बजारमा लगानी

160 Shares

सेयरमा लगानी गर्ने लगानीकर्ताको संख्या झन्डै ७० लाख पुग्न थालेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म ६९ लाख ६५ हजार ५ सय ६१ जनाले सेयरमा लगानीका लागि डिम्याट खाता खोलेका छन् ।

तर डिम्याट खाता खोलेका सबै लगानीकर्ताले दोस्रो बजारमा सेयर कारोबार गर्ने गरेका छैनन् । नेपाल स्टक एक्सचेन्जको तथ्यांकअनुसार हाल दोस्रो बजारमा सेयर कारोबारका लागि ४१ लाख ८९ हजार ६ सय ७७ जनाले खाता खोलेका छन् ।

तीमध्ये २६ लाख ५१ हजार २० जना पुरुष, १५ लाख २८ हजार ६११ जना महिला र बााकी १० हजार ४६ वटा संस्थागत लगानीकर्ता (अन्य) रहेको नेप्सेको तथ्यांक छ ।

यसरी दोस्रो बजारमा कारोबारका लागि खाता खोलेकामध्ये पनि सबै सक्रिय छैनन् । धेरै निष्क्रिय रहेका छन् । नेप्सेका अनुसार १२ लाख ४८ हजार ८५५ जना मात्र दोस्रो बजारमा सक्रिय छन् । नेप्सेले गएको एक वर्षमा कम्तीमा एउटा कारोबार गर्ने लगानीकर्तालाई सक्रिय लगानीकर्ता भन्दै आएको छ ।

२०८२ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ जेठमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुांजीकरणको हिस्सा ५२.१ प्रतिशत रहेको छ । त्यसै गरी, जलविद्युत् कम्पनीको हिस्सा १६.१, लगानी कम्पनीको हिस्सा ८, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५, व्यापारिक संस्थाको हिस्सा ५.३, होटेलको हिस्सा २.८ र अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।


Scroll to Top