जापानी अटोमोबाइल जाइन्ट टोयोटाले सन् २०२५ को जनवरीदेखि जुन अन्तिमसम्मा ५१ लाख ५९ हजार युनिट कार बिक्री गरेको तथ्यांक बाहिर आएको छ । बढ्दो विद्युतीय कारको क्रेज देखिएको नेपाली आँखाबाट टोयोटा ६ महिनाको सेल्स धेरैलाई पत्यार नलाग्न सक्छ ।
विश्व अटोमोबाइलको एक्लो लिडर देखिएको टोयोटाले अघिल्लो वर्षको ६ महिनाको तुलनामा यस वर्ष ५.५ प्रतिशतले बिक्री बढाएको हो । टोयोटाको बिक्री बढ्नुमा उत्तर अमेरिका, चीन, जापान र भारत लगायतका एशियाली बजारको भूमिका सबैभन्दा बढी देखिएको छ ।
टोयोटाले आफ्नो उत्पादन क्षमता पनि अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशतले विस्तार गरेको छ । जसको कारण युरोप लगायतका देशमा पनि टोयोटाले राम्रो ब्यापार गर्न सकेको हो ।
टोयोटा मोटर कर्पोरेसनका अनुसार उसको हाइब्रिड भेहिकलको बिक्री १९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको कुल बिक्रीको ४८ प्रतिशत कार हाइब्रिड पुगेको हो ।
नेपालमा टोयोटाका ठूला र महंगा गाडी मात्रै उपलब्ध छन् । नेपाली बजारमा कम्पनीका र्याभफोर, प्राडो, एलसी–३०० जस्ता मोडल उपलब्ध छन् । पछिल्लो पटक नेपाल आएको यारिस क्रस हाइब्रिड र कोरोला क्रस हाइब्रिडले पनि राम्रै ब्यापार गरिरहेका छन् ।