Banijya News

बैंक कर्जा प्रवाह ११ अर्बले घट्यो, निक्षेप संकलनमा पनि ५२ अर्ब कमी

1.1K Shares

चालु आर्थिक वर्षको पहिलो महिनामा बैंकहरूले प्रवाह गर्ने कर्जा रकम ११ अर्ब रूपैयाँले घटेको छ । वाणिज्य बैंकहरूले गत असारमा कुल ४९ खर्ब ७५ अर्ब रूपैयाँ कर्जा लगानी गरेकोमा साउनमा यस्तो लगानी ४९ खर्ब ६४ अर्ब रूपैयाँमा सीमित भएको हो ।

कर्जाको माग अझै बढ्न नसकेको बैंकरहरूले बताएका छन् । पछिल्ला महिनाहरूमा व्याजदर घटेर न्यून विन्दुउन्मुख भएपनि कर्जाको माग भने बढ्न सकेको छैन ।

पछिल्ला महिनाहरूमा सेयर कर्जा, घरजग्गा जस्ता क्षेत्रमा मात्र कर्जाको माग बढेको छ । तर निर्माण क्षेत्रमा पनि अपेक्षित माग बढ्न नसकेको छैन ।

नेपाल बैंकर्स संघका अनुसार, बैंकहरूको निक्षेप संकलन समेत ५२ अर्ब रूपैयाँ घटेको छ । असारमा ६५ खर्ब ३१ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूको साउनमा यस्तो निक्षेप घटेर ६४ खर्ब ७९ अर्ब रूपैयाँमा सीमित भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा अहिले करिब सात खर्ब रूपैयाँ बराबर कर्जा लगानी योग्य रकम थुप्रिएको छ । कर्जा लगानी हुन नसक्दा बैंकहरूको कर्जा निक्षेप अनुपात औसतमा ७५.८३ प्रतिशत छ । बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् ।

राष्ट्रिय वाणिज्य बैंकको यस्तो अनुपात सबैभन्दा कम ६२.४७ प्रतिशत छ । बैंकले चार खर्ब ८९ अर्ब निक्षेप संकलन भएकोमा तीन खर्ब पाँच अर्ब कर्जा लगानी गरेको छ ।

सबैभन्दा धेरै निक्षेप हुनेमा ग्लोबल आइएमई बैंक छ । बैंकले पाँच खर्ब ८३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेकोमा चार खर्ब ४४ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७४.१६ प्रतिशत छ ।

चालु आवको पहिलो महिनामा कर्जा बढाउन एभरेष्ट र ग्लोबल आईएमई बैंक आक्रमक देखिएका छन् । सञ्चालनमा रहेका २० मध्ये साउनमा १० बैंककको कर्जा गत असारको तुलनामा घटेको छ भने १० बैंकले बढाएका छन् ।

सबैभन्दा धेरै कर्जा बढाउनेमा एभरेष्ट बैंक देखिन्छ । बैंकले साउनमा मात्रै कर्जा ५ अर्ब ६४ करोड रुपैयाँले बढाएर २ खर्ब २९ अर्ब ३० करोड रुपैयाँ पुर्‍याएको छ ।

त्यस्तै ग्लोबल आईएमई बैंकले पनि साउनमा ४ अर्बले कर्जा बढाएको छ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा नै ८ अर्ब ६८ करोडले घटाएको छ ।

हिमालयन बैंकको कर्जा ३ करोड ५० लाख रुपैयाँले घट्दा राष्ट्रिय वाणिज्य बैंकको कर्जा साउनमा ३ अर्ब १७ करोड रुपैयाँले घटेको हो । कृषि विकास बैंकको २ अर्ब ६७ करोड, नबिल बैंकको २ अर्ब ८ करोड र कुमारी बैंकको कर्जा २ अर्ब ५ करोड रुपैयाँले घटेको छ ।

कर्जा विस्तार मात्रै नभएर निक्षेप बढाउनमा पनि ग्लोबल आईएमई बैंक अगाडि देखिन्छ । बैंकले निक्षेप ७ अर्ब ९६ करोड रुपैयाँले बढाएर ५ खर्ब ८३ अर्ब १ करोड पुर्याउँदा नबिल बैंकले ४ अर्ब ७६ करोड रुपैयाँले बढाएर ५ खर्ब ३७ अर्ब रुपैयाँ पुर्याएको छ ।

त्यस्तै हिमालयन बैंकले निक्षेप ४ अर्ब ६७ करोडले बढाएर ३ खर्ब १७ अर्ब ७३ करोड रुपैयाँ पुर्‍याएको हो । यस्तै नेपाल एसबीआई बैंकको निक्षेप १ अर्ब ७ करोड रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप १ अर्ब ९८ करोड रुपैयाँले बढेको छ ।

यता सिद्धार्थ बैंकको निक्षेप सर्वाधिक १७ अर्ब ४४ करोड रुपैयाँले घट्दा कुमारी बैंकको १६ अर्ब ३१ करोड रुपैयाँले घटेको छ ।
यस्तै नेपाल बैंकको निक्षेप ६ अर्ब ९८ करोड रुपैयाँ र प्रभु बैंकको निक्षेप ६ अर्ब ८१ करोड रुपैयाँले घटेको छ ।


Scroll to Top