Banijya News

तीन अस्पतालमा १२.५ अर्ब लगानी: पाटन र क्यान्सर अस्पतालको क्षमता विस्तार हुने

1.1K Shares

नेपालमा तीनवटा प्रमुख अस्पतालहरूको क्षमता विस्तारका लागि कुल १२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी हुने भएको छ। वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) रिपोर्टअनुसार, पाटन अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र जनकपुरको विनयतारा क्यान्सर अस्पतालमा यो लगानी हुनेछ।

हाल ६०० बेड क्षमताको रहेको पाटन अस्पताललाई १० अर्ब ७३ करोड रुपैयाँको लागतमा १,२०० बेड क्षमतामा विस्तार गरिने भएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले तयार पारेको रिपोर्टअनुसार, अस्पतालमा बेसमेन्ट र ग्राउन्ड फ्लोर सहित सात तलाको भवन निर्माण गरिनेछ। यो भवनको उचाइ ३५ मिटर हुनेछ।

सन् १९८२ मा स्थापना भएको यो अस्पतालले सन् २०१० देखि एमबीबीएस कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। विस्तारको काम ३६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ। रिपोर्टमा उल्लेख भएअनुसार, नयाँ भवन निर्माणका लागि ठूलो मात्रामा सिमेन्ट, गिट्टी, बालुवा र फलामे डन्डी आवश्यक पर्नेछ। क्षमता विस्तारपछि अस्पतालमा जनशक्ति पनि दोब्बर बढ्नेछ।

चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक सुविधा थप्न ३२ करोड रुपैयाँ लगानी हुने भएको छ। नेपालकै सबैभन्दा ठूलो राष्ट्रियस्तरको क्यान्सर अस्पतालमा बिरामीको बढ्दो चाप र आधुनिक उपचारको आवश्यकतालाई ध्यान दिँदै ‘पीईटी-सीटी स्क्यान’, ‘साइक्लोट्रन’ र ‘बोनम्यारो ट्रान्सप्लान्ट’ सेवाका लागि संरचना निर्माण गरिनेछ।

यीमध्ये ‘पीईटी-सीटी स्क्यान’ र ‘साइक्लोट्रन’ भवन निर्माणमा नेपाल सरकारले लगानी गर्नेछ भने ‘बोनम्यारो ट्रान्सप्लान्ट’ भवन चीन सरकारको सहयोगमा बन्नेछ। सन् १९९८ मा चीनको सहयोगमा निर्माण भएको यो अस्पताल ७५ बिघा क्षेत्रफलमा फैलिएको छ र यसले विभिन्न क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको छ।

धनुषाको जनकपुरधाममा सञ्चालित २५ बेडको विनयतारा क्यान्सर अस्पताललाई १ अर्ब ४५ करोड रुपैयाँको लगानीमा २०० बेडमा विस्तार गरिने भएको छ। विनयतारा क्यान्सर ट्रष्टले तयार पारेको EIA रिपोर्टमा यो विस्तारको प्रस्ताव गरिएको हो। यो अस्पताल जनकपुर विमानस्थल र नेपाल–भारत सीमाबाट करिब ५.५ किलोमिटरको दूरीमा रहेको छ। विनय तारा फाउन्डेसनले सन् २०१८ देखि जनकपुरमा क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको छ।

यी तीन अस्पतालको क्षमता विस्तारले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा महत्त्वपूर्ण सुधार आउने र बिरामीहरूलाई थप सहज र आधुनिक उपचार सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।


Scroll to Top