नेपालको पुँजी बजारमा म्युचुअल फण्ड अर्थात् सामूहिक लगानी कोषको उपस्थिति तीव्र रूपमा बढ्दै गएको छ । साना र सीमित ज्ञान भएका लगानीकर्ताका लागि सुरक्षित तथा व्यवस्थित लगानीको माध्यम बनेको म्युचुअल फण्डले हाल ५८ अर्ब ९५ करोड ९० लाख रुपैयाँभन्दा बढी रकम परिचालन गरी सेयर बजार तथा अन्य वित्तीय उपकरणमा लगानी गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांकअनुसार, हाल नेपालमा ४९ वटा म्युचुअल फण्डहरू सक्रिय छन् । यसमध्ये बन्दमुखी योजनाको संख्या ३९ र खुलामुखी योजनाको संख्या १० रहेको छ । यी फण्डहरूले बैंक निक्षेपमा ब्याजदर घटेको र सरकारी ऋणपत्रको प्रतिफल पनि कम भएको अवस्थामा सेयर बजारमा लगानी बढाएका छन् । यसले बजारको स्थायित्वमा समेत सकारात्मक प्रभाव पारेको छ ।
म्युचुअल फण्डको कुल लगानीमध्ये अधिकांश हिस्सा सूचिकृत कम्पनीको सेयरमा रहेको छ । पुँजी बजारमा लगानी संरचना हेर्दा, बन्दमुखी फण्डहरूको लगानी सबैभन्दा धेरै छ । हाल १ अर्बभन्दा बढीको कोष भएका २८ वटा बन्दमुखी फण्डहरू छन् । यसमा सिद्धार्थ इक्विटी फण्ड र एनआईबिएल समृद्धि फण्ड–२ जस्ता ठूला फण्डको कोष १ अर्ब ५० करोड रुपैयाँसम्म पुगेको छ ।
खुलामुखी फण्डहरू पनि लगानी विस्तारमा अगाडि छन् । १० वटा खुलामुखी म्युचुअल फण्डले ४० करोडदेखि झन्डै ६ अर्ब रुपैयाँसम्म कोष परिचालन गरेका छन् । यसमध्ये एनआईबिएल सहभागिता फण्ड सबैभन्दा ठूलो सामूहिक लगानी योजना बनेको छ, जसको कोष ५ अर्ब ९८ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
म्युचुअल फण्डहरूको बढ्दो लोकप्रियताको मुख्य कारण आकर्षक प्रतिफल हो । गत आर्थिक वर्षमा अधिकांश सामूहिक लगानी योजनाले आफ्ना लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । हालसम्म विभिन्न म्युचुअल फण्डका ३० वटा योजनाले १० प्रतिशत वा सोभन्दा माथि लाभांश दिएका छन् । बैंकमा रहेको न्यून बचत ब्याजदर (२.७५%) र मुद्दती निक्षेपको ब्याजदर (५%) को तुलनामा यो प्रतिफल निकै आकर्षक मानिएको छ ।
सानिमा लार्जक्याप फण्डले सर्वाधिक २१.०५ प्रतिशत लाभांश दिएको छ भने लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र सिद्धार्थ इक्विटी फण्डले २०/२० प्रतिशत लाभांश दिएका छन् । अहिले पनि धेरै म्युचुअल फण्डको न्याभ (Net Asset Value) भन्दा तल कारोबार भइरहेको अवस्थामा लगानीकर्ताहरूलाई राम्रो अवसर देखिएको छ ।