भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को कुल बैंक मौज्दात २ खर्ब ६ अर्ब ८६ कराेड भारतीय रुपैयाँ पुगेको छ ।
बीसीसीआईले पछिल्लो ५ वर्षमा मात्रै १ खर्ब ४६ अर्ब २७ कराेड भारु कमाएको एक रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ । गएको आर्थिक वर्ष २०२३/२४ मा मात्र बीसीसीआईले ४१ अर्ब ९३ कराेड भारु आम्दानी गरेको थियो । राज्य क्रिकेट सङ्घहरूको वित्तीय प्रतिवेदन अनुसार यो जानकारी सार्वजनिक भएको हो ।
यद्दपि अन्तर्राष्ट्रिय क्रिकेट खेल र मिडिया अधिकारबाट हुने राजस्वमा भने गिरावट आएको खबरमा उल्लेख छ । अन्तर्राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताबाट हुने राजस्व २०२३/२४ मा ३ अर्ब ६१ कराेड २२ लाख पुगेको छ, यो गएको वर्षको ६ अर्ब ४२ कराेड ७८ लाख भारुभन्दा कम हो ।
यसबाहेक मिडिया अधिकारबाट हुने आम्दानी पनि २५ अर्ब २४ कराेड ८० लाखबाट घटेर ८ अर्ब १३ कराेड १४ लाख भारु पुगेको छ । यो कमी अन्तर्राष्ट्रिय खेलहरू कम हुनु र आईसीसी क्रिकेट विश्वकप २०२३ को आयोजनाका कारणले भएको हो ।
यस्तै इन्डियन प्रिमियर लिग (आईपीएल) बाट हुने आम्दानी र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त शेयरका कारण सन् २०२३–२४ मा बीसीसीआईको नाफा १६ अर्ब २३ कराेड ८ लाख छ । यो गएको वर्षको ११ अर्ब ६७ कराेड ९ लाख ९० हजार भारुभन्दा धेरै हो । बीसीसीआई विश्वको सबैभन्दा धेरै धनी क्रिकेट बोर्ड हो ।