नेपाल एलपी ग्यास उद्योग संघले जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा जनधनको ठूलो क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
बुधबार जारी विज्ञप्तिमा संघले आन्दोलनका क्रममा १९ जना युवा आन्दोलनकारीसहित प्रहरी र अन्य नागरिक गरी २३ जनाको ज्यान गएको र ३५० भन्दा बढी घाइते भएको घटनाले मर्माहत बनाएको जनाएको छ । मृतक आत्माको चीरशान्तिको कामना गर्दै संघले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
संघले आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र व्यवसायमा परेको क्षतिप्रति खेद प्रकट गरेको छ । हिंसात्मक ढंगले आन्दोलनलाई ‘धमिलो पानीमा माछा मार्ने’ प्रवृत्तिले मोडिएको भन्दै संघले आपत्ति जनाउँदै संयमित रहन सबै पक्षलाई आह्वान गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “हिंसा र विनाशबाट कुनै समाधान निस्कँदैन । समस्या समाधानको मार्ग वार्ता, सहकार्य र मेलमिलापमै सम्भव हुन्छ ।”
संघले घाइतेको तत्काल उपचार र आवश्यक सहयोग सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई जिम्मेवारीपूर्वक अगाडि बढ्न पनि आग्रह गरेको छ ।