स्थानीय तहको चुनावका कारण माग ह्वात्तै बढ्दा महँगिएको कुखुराको मासुको मूल्य निर्वाचन सकिएपछि पुनः सस्तिन थालेको छ । गतसाता चुनावकै कारण गाउँगाउँमा खपत चुलिँदा बोइलर कुखुराको मासुको मूल्य बढेको थियो । जेठ ५ बिहिबारदेखि बजारमा लागु हुने गरी राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकेजी १० रुपैयाँ घटाएको छ । यससँगै अब जिउँदो कुखुराको मूल्य किलोको तीन सय रुपैयाँ कायम भएको छ ।
यस्तै, संघका अनुसार तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ३ सय ९५ रुपैयाँमा ओर्लिएको छ । एक साताअघि जिउँदो कुखराको मूल्य किलोमा १० रुपैयाँ बढेर ३ सय १० रुपैयाँ पुगेको थियो । साथै, तयारी मासुको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँ बढेर चार सय १० रुपैयाँमा उक्लिएको थियो । चुनावका कारण किसानले उत्पादन गरेको कुखुरा गाउँमै खपत हुन थालेपछि संघले मूल्य बढाएको थियो । कुखुराको मूल्य गाउँमा नै बढेपछि शहर–बजारमा आइपुग्ने कुखुराको मूल्य पनि बढाएको संघले जानकारी दिएको छ । हाल देशभर कुखुराको मासुको खपत दैनिक ८ लाख केजीभन्दा बढी हुन थालेको छ । उपत्यकामा मात्र दैनिक साढे पाँच लाख केजी मासुको खपत हुन थालेको संघले जनाएको छ ।