Banijya News

‘नाडा अटो सो’ हालसम्मकै भव्य हुने, प्रदर्शनीमा रोबोटदेखि उड्ने कारसम्म

160 Shares

नाडा अटोमाेबाइल्स एशाेसिएसन अफ नेपालले नाडा अटो शो २०२५ आयाेजना गर्ने भएको छ । यही भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शन हुने उक्त शोमा १२५ भन्दा बढी स्टल रहनेछन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने प्रदर्शनी हालसम्मकै भव्य हुने आयोजकको दाबी छ ।

नाडाका अध्यक्ष करण चाैधरीका अनुसार भृकुटीमण्डपमा १ लाख ६५ हजार स्क्वायर फिटभन्दा बढी स्थलमा प्रदर्शन रहनेछ । “Go For More” भन्ने नारासहित आयोजना हुने यस वर्षको शोमा उन्नत चारपांग्रे रोबोट र Deepal eVTOL UAV भविष्यको शहरी हवाई मोबिलिटीको झलक देखाइने भएको छ ।

मंगलबार कार्यक्रमसम्बन्धी जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले गत वर्षभन्दा पनि भव्य प्रदर्शनी आयोजना गरिने जानकारी दिए । उनका अनुसार, शोको उद्घाटन उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम तय भएको छ ।

‘गो फर मोर’ नारासहित आयोजना हुने प्रदर्शनीले आधुनिक प्रविधि, स्मार्ट मोबिलिटी समाधान र अटो उद्योगको सम्पूर्ण पक्षलाई एकै स्थानमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ । आयोजकका अनुसार, प्रदर्शनीमात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्व हुनेछ ।

यस प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, चारवटा दुईपांग्रे सवारी ब्रान्ड, ३५ वटा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवाप्रदायक कम्पनी सहभागी हुनेछन् । यसमा १२५ भन्दा बढी प्रदर्शक रहनेछन् ।

प्रदर्शनीलाई एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको छ । करिब तीन लाख वर्गफुट क्षेत्रमा फैलिएको प्रदर्शनीस्थलको एक लाख ६२ हजार ५०० वर्गफुट प्रदर्शनी क्षेत्र रहनेछ ।

यस वर्षको प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स स्वचालन र कृत्रिम बुद्धिमत्तामा आधारित उन्नत चारपांग्रे रोबोट र डिपल ईभीटोल यूएभी रहेको नाडाले जनाएको छ ।

कार्यक्रमलाई सफल बनाउन टाइटल प्रायोजक युनिट्री (एमएडब्ल्यू वृद्धि), सहप्रायोजक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, पावर्ड बाई क्याम्पा कोला, मोबिलिटी साझेदार यांगो, एक्सक्लुसिभ टिकटिङ साझेदार खल्ती (भदौ २ गतेसम्म अग्रिम टिकटमा २० प्रतिशत क्यासब्याक सुविधा)लगायत वर्ल्डलिंक, सीसीटीभी नेपाल, हिमालयन सेफ्टी सोलुसन्स, किस्ट अस्पताल, नेपाल ल्युब अइल लिमिटेड र द प्लाजा होटलको सहभागिता रहने नाडाले जनाएको छ ।

प्रदर्शनीमा भिन्टेज मोटर शो विशेष आकर्षणका रूपमा रहनेछ । जसमा मोरिस माइनर, फियाट, प्युजो, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, भीडब्ल्यू बस, टोयोटा कोरोल्ला, माज्दा फेमिलिया, टोयोटा एमआर२ लगायतका ऐतिहासिक सवारीसाधन प्रदर्शन गरिनेछ ।

साथै, ‘मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्माण भएका सवारी तथा अटो पार्ट्स देखाइनेछ । अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत अन्तर्राष्ट्रिय लगानी र सहकार्य प्रवर्द्धन गरिने नाडाले जनाएको छ ।

ईभी, स्मार्ट मोबिलिटी र दिगोपनका विषयमा सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रम हुनेछन् । दैनिकरूपमा १२ भाग्यशाली विजेताको घोषणा हुनेछ, जसले एक वर्षसम्म निःशुल्क ल्युब्रिकेन्ट सेवा पाउनेछन् ।

प्रदर्शनीमा आगन्तुकका लागि सहज सुविधा र सुरक्षा सुनिश्चित पार्किङ सुविधा हुनेछ । चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन, अग्रिम टिकट बुकिङ सुविधा, सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, आपत्‌कालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी र आगो नियन्त्रणको पूर्ण व्यवस्था हुने नाडाले जनाएको छ ।

अध्यक्ष चौधरीले १६ संस्करणको सफल इतिहास, अग्रणी ब्रान्डहरूको नियमित सहभागिता र लाखौँ दर्शकको विश्वासका कारण नाडा अटो सो नेपालकै सबैभन्दा ठूलो र विश्वसनीय अटो प्रदर्शनीका रूपमा स्थापित भएको बताए । यस वर्षको संस्करणले अटो उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय थप्ने अपेक्षा गरिएको चौधरीको भनाइ छ ।


Scroll to Top